• १३ असोज २०८१, आइतबार

कार्यालय बोहोरागाउँ सरेपछि भयो सास्ती

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, वैशाख १७ गते । यहाँका सरकारी कार्यालय सदरमुकामबाट बोहोरागाउँमा सरेपछि जनताले सास्ती पाउन थालेका छन् । जनतासँग प्रत्यक्ष सम्बन्ध राखेका मालपोत, नापी, शिक्षा तथा समन्वय एकाइ कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सदरमुकाम छाडेर भेरी नगरपालिका–४, बोहोरागाउँबाट सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई समस्या भएको हो । 

विगतमा सदरमुकाम खलङ्गामा भाडाका घरबाट सेवा दिँदै आएका सरकारी कार्यालयले निजी भवन निर्माण गरी बोहोरागाउँबाट सेवा प्रवाह गर्न थालेपछि गाउँबस्तीबाट सेवा लिन आएका सेवाग्राहीलाई सास्ती हुने गरेको छ । काम नसकिएर बास बस्नुपर्ने अवस्था आउँदासमेत सेवाग्राहीले होटल नपाउने अवस्था रहेको छ ।  

मालपोत, नापी कार्यालयसहित शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय भवनबाट तीन वटा सरकारी कार्यालयले सेवा प्रवाह गरेका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले निजी घरबाट सेवा विस्तार गरेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयको भवन निर्माणाधीन अवस्थामा छ । मालपोत, नापी कार्यालयका भवन पनि निर्माणको चरणमा रहेका छन् । 

मालपोत कार्यालयका प्रमुख डिल्ली केसीका अनुसार तीन वटा कार्यालयको काम एउटै भवनबाट दिनु परेपछि सेवाग्राही, कर्मचारी दुवैलाई समस्या भएको छ । कर्मचारीलाई समेत बस्ने व्यवस्था छैन, सेवाग्राहीलाई टन्टलापुर घाम लागेको बेला गर्मीमा कोठाबाहिर पठाएर काम गर्नुपर्ने बाध्यता छ । कर्मचारीको बसाइ व्यवस्थापन नभए पनि जनताले पाउने सेवा सहज रूपमा प्रदान गरेको उहाँले दाबी गर्नुभयो । 

शिक्षा विकास तथा समन्वय एकाइ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय भूकम्पअघि सरिसकेका थिए । भूकम्पले भाडाका घर भत्किएपछि कार्यालयका स्रेस्ता तथा कागजात राख्ने घर नपाएपछि पुनः सदरमुकाममा नआउने गरी गएका छन् । कुसे गाउँपालिका–८ का मगबहादुर रोकायाले कार्यालय सारिएपछि सेवाग्राहीलाई सास्ती बढेको बताउनुभयो । भेरी नगरपालिका–११ का तिलक आचार्यले जनतासँग सम्बन्ध भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले बोहोरागाउँबाट सेवा दिन थालेपछि पुरानो कार्यालय बसेको घरमा पुगेर कार्यालय कहाँ गयो भन्ने अवस्था आएको बताउनुभयो । सरकारी कार्यालयलाई एकै ठाउँमा ल्याउन सरोकारवाला निकायले पहल गर्न आग्रह गर्नुभयो ।