• १३ असोज २०८१, आइतबार

सदरमुकाम मान्ममा जहिलै पानी अभाव

blog

घरमा पिउने पानीको धारा नआउदा घण्टौ टाडाबाट पानीका ग्यालन बोक्दै गरेकी एक किशोरी । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, वैशाख १७ गते ।
कालीकोटको सदरमुकाम मान्ममा पिउने पानीको अभाव टरेको छैन । जीर्ण खानेपानीको लाइन र गैरजिम्मेवार व्यवस्थापनका कारणले सदरमुकाम मान्मको खानेपानी समस्या जस्ताको तस्तै छ । दिन प्रतिदिन मानविय चाप वढिरहेको सदरमुकाम मान्ममा पिउने पानी व्यवस्थापनका लागि भरपर्दो पहल नहुँदा पानीको अभाव जहिले हुने गरेको छ ।

हिउँदको समयमा पानीका मुहान सुक्ने भएकाले अभाव हुनु स्वभाविक भए पनि वर्षातको समयमा समेत पानी अभाव हुँदै आएको प्रति यहाँका नागरिक आक्रोसित छन् । सदरमुकाम मान्ममा २०५५ सालदेखि बस्दै आउनु भएका पचालझरना ८ का सरेन्द्रबहादुर शाहीले आफुले २७ वर्षदेखि सदरमुकाममा कहिलै प्याप्त पिउने पानी नपाएको गुनासो गर्नुभयो । पहिला नुहाउन कपडा धुन रेटेपानी, ओख्णेनी, ताडी, रोहोटे लगायत क्षेत्रमा जाने गरेको सुनाउनुभयो ।

अहिले ति पानीका मुहान पनि व्यक्तिले निजि प्रयोजनका लागि पाईप गाडेर ल्याएका कारणले सरसफाई गर्न समस्या भएको शाहीको भनाइ छ । घरमा वितरण गरिएका पिउने पानीका लाइन हप्तामा एक दिन आउछन् । त्यसले के पुग्छ त्यो भने १० देखि १५ मिनेट आएको धाराको पानीले पिउने पानीका ड्रम भर्न पनि पाइदन, कसरी कपडा धुने, नुहाउने त कल्पना पनि छैन शाहीले सुनाउनुभयो । वर्षातको समयमा पनि पानी अपुग भइरहने गरेको छ । खोला खोल्सामा आउने पहिरो, गाईबस्तु चराउने व्यक्तिले पानीका लाइन काट्ने भएकाले वर्षातको समयमा पनि पानी अभाव हुने मान्म बजारमा यो समयमा झन हाहाकार हुने गरेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारी मानवहादुर गिरीले पहुँचवालाको घर तथा कार्यालयमा रातदिन जाने पानीका कारणले पनि बजारमा अभाव हुने गरेको बताउनुभयो । हामीले एक हप्तामा एक दिन त्यो पनि १० देखि १५ मिनेट मात्र पानी पाउछौ, तर विभिन्न कार्यालय र पहुँचवाला व्यक्तिका घरमा निजि पानीका लाइन वितरण गरिएको छ । खानेपानी वितरण गर्ने खाँडाचक्र नगरपालिका वडा नं १ र पहँचवाला बिचको समन्वयले बजारवासीले पानी अभाव झेल्नु परेको गिरीको आरोप छ । होटल व्यावसायी धनबहादुर बटालाले गाडीमा खोलाको पानी बोकेर ग्राहकलाई सरसफाई गर्ने पानी आपुर्ति गर्नुपर्ने बाध्यता सधैँका लागि भइरहेको बताउनुभयो ।

उहाँले केही व्यक्तिले सिधैँ ट्याङ्कीबाट खानेपानीको लाइन घरमा ल्याएर रातादिन प्रयोग गरिरहेका छन् । केहीले निजि मुहान भनरे सरकारी बजेट खर्च गराएर घरमा खानेपानीका धारा ल्याएका छन् । जो राज्यलाई कर तिरिहेको छ, खानेपानीलाई प्रतिमहिना दुई बिल तिरिरहेको छ । उसले कहिलै पिउने पानी नपाउनु दुःखद भएको सुनाउनुभयो । पानी अभावले एक घण्टा टाडा, कसैको निजि पानीको धारामा बिन्ती गरेर पिउने पानीको जोहो गर्नु पर्ने बजारका नागरिकको दैनिकी छ । पानी वितरणको जिम्मेवारी खाँडाचक्र नगरपालिका वडा नं १ का वडाअध्यक्ष धर्मराज टमटाले मुहानकै अभावले समस्या टार्न नसकेको स्वीकार गर्नुभयो ।

पहुँचवालाको घरको लाइन विस्तारै हटाउदै जाँदा पनि बजारमा पानीको अभाव हुनु मुहान सुक्नु र लाईनमा पानी चुइने गरेकाले भएको भन्दै संघ र प्रदेश सरकारले यस बिषयमा सोच्नु पर्ने सुनाउनुभयो । संघ सरकारले मान्म खानेपानीका लागि बजेटको व्यवस्थापन पनि नगरेको होइन । कामको जिम्मा लिने निमार्ण व्यवसायी र नगरपालिका बिचको आन्तरिक मिलेमोतोका कारणले आयोजना आधा निमार्णमै सिमित छ ।