• १ जेठ २०८१, मङ्गलबार

पढ्न गएको छोरा दुई वर्षदेखि वेपत्ता, खड्का परिवारमा सन्नाटा

blog

अज्ञात रहेका गोपाल खड्का । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, वैशाख १७ गते ।
दुई वर्षदेखि रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ का चिताराम र बिरमा खड्काको आँखा ओभानो छैनन् । जिल्ला सदरमुकाममा रहेको खड्का दम्पत्तीको घर अझै सुनसान छ । उच्च शिक्षा अध्ययनका लागि भारत गएका उहाँको जेठो छोराको अवस्था दुई वर्षदेखि अज्ञात छ । त्यसयता खड्का दम्पत्तीको शरिरमा घाम लागेको छैन ।

२०७९ वैशाख १६ गतेदेखि २६ वर्षीय छोरा गोपाल खड्काको अवस्था अज्ञात छ । छोरा आइपुग्छ कि भन्ने आशाले बाटो कुरिरहेको बिरमाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘परीक्षा सकियो, घर आउँदैछु आमा भनेर फोन गरेको थियो । आज दुई वर्ष पुग्यो, न छोरा आउँछ, न उसको अवस्था पत्ता लाग्छ ।’’ घरको कोठामा सजाइएका गोपालका फोटा, खेलकुद र संगीतका सामग्रीहरु देख्दा उहाँको मन भक्कानिन्छ, छटपटि हुन्छ । एकदिन त छोरा घर आइपुग्छ भन्ने आशामा बिरमा हुनुहुन्छ । 

बुवा चितारामले छोरा हराएको दिनलाई कालो दिनको संज्ञा दिनुभयो । छोरा हराएदेखि उहाँको भोक र निद पनि हराएको छ । ‘‘परिवार आधा बनाएर छोरा हराएको छ,’’ चितारामले वेदना पोख्नुभयो, ‘‘छोरा पढाउन निकालेको ऋण र हराएको सूचनापछि खोजी कार्यका लागि भएको खर्चले घरमा ऋणको भारी थपिएको छ ।’’

गोपाल भारतको देहरादुनस्थित अल्पाइन इन्सिच्युट अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी कलेजमा स्नातक तह पढिरहेका थिए । बुवा चिताराम खड्काका अनुसार २०७९ वैशाख १६ गते घर आउँने भन्दै उनी कलेजबाट हिँडेका थिए । तर हालसम्म उनी न त घरमा पुगेका छन्, न त कलेजमा छन् । छोरा हराएको सूचना लगत्तै भारतका विभिन्न स्थानमा आफन्तहरुले खोजी गरेको तर पत्ता नलागेको बुवा चितारामको भनाइ छ ।

गोपाल र उनका साथीलाई भारतको हरिद्वारस्थित गङ्गा नदिको आसपासमा नेपाली भाषा बोल्ने केहि अन्जान व्यक्तिहरुले नषालु पदार्थ सेवन गराई बेहोस बनाएर लुटपाट गरेको बताइन्छ । सोहि बेलादेखि गोपाल सम्पर्कविहीन छन् । परीक्षा सकेर घर फर्कदै गर्दा साथमा भएको सबै सामान लुटिएको खबर पाएको चितारामले उल्लेख गर्नुभयो ।

गोपालसँगै लुटिएका एक विद्यार्थीले हरिद्वारमा लुटिएको र आफू जसोजतो कलेज फर्कन सफल भएको तर गोपाल सम्पर्कमा नरहेको खबर घरमा गरेपछि निरन्तर खोजिकार्य गरिएको थियो । आफन्तहरुले विभिन्न समूह बनाएर हरिद्वार, दिल्ली, सिमला लगायतका स्थानमा पटक पटक खोजी गर्दा पनि अवस्था पत्ता लागेको छैन । गोपालको खोजीका लागि नेपाल सरकारमार्फत भारतीय राजदूतावासलाई पत्राचार गरिएको थियो । तर हालसम्म पनि गोपालको अवस्था अज्ञात छ ।