• १३ असोज २०८१, आइतबार

गिट्टीबाट आम्दानी

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख १७ गते । हिमाली जिल्ला हुम्लामा गिट्टी फुटाउने कार्य महिलाको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको छ । सिमेन्टको काममा गिट्टी आवश्यक पर्ने र त्यो काम महिलाले मात्र गर्ने भएका कारण पनि आम्दानीको स्रोत बन्दै गएको हो । 

सिमकोट गाउँपालिका–५ की मतिउ रोकायाले वर्षमा डेढदेखि दुई लाख रुपियाँ गिट्टी फुटाउने कामबाट आम्दानी गर्ने गरेको बताउनुभयो । पहिला सिमेन्टको काम कम हुने भएका कारण यसबाट खासै आम्दानी थिएन, हाल सिमेन्ट उत्पादनमा वृद्धि भएसँगै गिट्टी फुटाउने काम बढेकाले आम्दानी बढेको बताइन्छ । 

सिमकोट–६ की गोरी रावतले यस वर्ष गिट्टी फुटाएर दुई लाख रुपियाँसम्म कमाइ गरेको बताउनुभयो । काम गाह्रै भए पनि पुरुषले यो काम नगर्ने र गिट्टी फुटाउने मेसिन जिल्लामा नभित्रिएका कारण महिलाको आम्दानीको स्रोत गिट्टी भएको उहाँले बताउनुभयो । यता नाम्खा गाउँपालिका–४ को याल्वाङ गाउँकी छिरिङ तामाङले महिलाको आम्दानीको स्रोत यो पेसा भएको बताउनुभयो । 

उहाँले यसरी गिट्टी फुटाएर डेढ लाख रुपियाँ कमाइसकेको र अझै कमाइ भइरहेको बताउनुभयो । उहाँले काम पनि पाइने र गिट्टी बिक्री गरेपछि उधारो पनि नहुने भएका कारण नगद सजिलै हातमा पर्ने बताउनुभयो । जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने क्रम वृद्धि भएसँगै सिमेन्टको काम पनि बढ्दै गएका कारण महिलाका लागि यो पेसामा राम्रो आम्दानीको स्रोत देखिएको हो ।