• २४ वैशाख २०८१, सोमबार

उद्योग वाणिज्य संघमा दुई प्यानल चुनावी प्रतिस्पर्धामा

blog

अध्यक्षका उम्मेदवार रतनबहादुर शाही र तिलबहादुर शाही। तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, वैशाख १२ गते। कालीकोट उद्योग वाणिज्य सङ्घ प्यानलगत चुनावी मैदानमा उत्रिएको छ। सदस्यता नवीकरण विवाद, कानुनी प्रक्रियामा केही समस्या देखिएपछि एक महिना अघि स्थगित भएको कालीकोट उद्योग वाणिज्य सङ्घको २१ औँ चुनावी सभामा सहमतिको प्रयास असफल भएपछि दुवै समूहमा चुनावी मैदानमा उत्रेका हुन्।

केन्द्रको सत्ता गठबन्धन दुई भागमा विभाजित भएको छ। अध्यक्षसहित प्यानलै बनाएर सत्ता गठबन्धन नेकपा (एमाले) र माओवादी केन्द्र सहित सत्ता बाहिरको राप्रपा एक समूहमा उभिएका छन् भने सत्ता घटक नेकपा एस, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी लगायत मिलेर अर्को समूह बनेको छ। 

नेपाली कांग्रेस सहितको गठबन्धनमा सत्ता पक्ष नेकपा एस निकट व्यापारी निवर्तमान अध्यक्ष रतनबहादुर शाहीको समूह बनेको छ। अर्को समूहमा नेकपा (एमाले) निकट व्यापारी तिलबहादुर शाही सहितको बनेको छ। 

निवर्तमान अध्यक्ष रतनबहादुर शाहीको प्यानलमा अध्यक्ष रतनबहादुर शाही स्वयम् हुनुहुन्छ भने वरिष्ठ उपाध्यक्षमा नेपाली कांग्रेस निकटका व्यापारी भानुभक्त शर्मा आचार्य, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद उपाध्याय, सचिवमा भद्रबहादुर बम, कोषाध्यक्षमा खगेन्द्र पाण्डे र महासचिवमा नेपाल मजदुर किसान पार्टी निकट धनञ्जय अधिकारीले उम्मेदवारी दिनुभएको छ।

एमाले सहितको प्यानलमा अध्यक्ष एमाले निकट तिलबहादुर शाही, वरिष्ठ उपाध्यक्ष जनकबहादुर शाही, महासचिव कमलराज बराल, कोषाध्यक्ष मणिराम पाण्डे हुनुहुन्छ भने द्वितीय उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निकटका व्यापारी गौरीप्रसाद सज्याल, सचिवमा राप्रपाका प्रेमबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ। 

महासचिव नेकपा एस निकटका व्यापारी जीवन शाहीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। नेकपा एसका नेताहरूले शाहीलाई फिर्ता लिन धेरै प्रयास गरेपनि उहाँले उम्मेदवारी फिर्ता नलिएपछि नेपाल मजदुर किसान पार्टीले आशङ्का गरेको छ। आजै हुने मतदान मतपत्र छपाएका कामले ढिलो भएको निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो।