• २० वैशाख २०८१, बिहिबार

वैदेशिक रोजगारीको दुःखान्त कथा, दुर्घटनामा मृत्युदर बढ्दो

blog

बुलबुले समाचारदाता

सुर्खेत, वैशाख ७ गते । भारतमा कात्तिक १७ गते दुर्घटनामा परी सुर्खेत चौकुनेका एकै परिवारका पाँच जनाको मृत्यु भयो । रोजगारीको सिलसिलामा कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलकामा उनीहरूको मृत्यु भएको हो । 

भारतमै पुस २० गते भएको सडक दुर्घटनामा दैलेख जिल्ला दुल्लु नगरपालिका–१० का एकै परिवारका दुई जनाको मृत्यु भयो । उनीहरू रोजगारीका लागि भारतको गुजरात पुगेका थिए ।

वैदेशिक रोजगारीमा रहेका कर्णालीका नागरिकको दुर्घटनामा ज्यान जाने क्रम बढ्दो छ । वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षमा कर्णालीका ३५ जनाले रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका छन् । बोर्डका प्रवक्ता टीकाराम ढकालका अनुसार श्रम स्वीकृति नलिई विदेश जाने र अन्य भिसामा गएकाको तथ्याङ्क कार्यालयले राख्दैन । यो तथ्याङ्क श्रम स्वीकृति लिएकाको हो । यो वर्षको हालसम्म कर्णालीका ३५ जनाले विदेशमा ज्यान गुमाएका छन् ।

सरकारले बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा गर्‍यो तर स्वदेशमा पर्याप्त रोजगारी नहुँदा नेपालबाट लाखौँ कामदार विदेश जान बाध्य छन् । कर्णालीका धेरैजसो नागरिक रोजगारीका लागि भारत जाने गरेका छन् तर वैदेशिक रोजगार बोर्डमा उनीहरूको तथ्याङ्क छैन । कर्णाली प्रदेशका ६० प्रतिशत युवा रोजगारीका लागि भारत र तेस्रो मुलुकमा जाने गरेका छन् ।

 त्यसमध्ये धेरैजसो परिवारसहित भारतमा रोजगारीका लागि जाने गरेका छन् । भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई वैदेशिक रोजगारीको मान्यता नदिएकाले उनीहरूले सरकारको तर्फबाट कुनै पनि राहत पाएका छैनन् । ज्यान गुमाएका आफन्तले सरकारबाट राहत पाउनुपर्ने माग गरिरहेका छन् ।

दुई हजारले लिए श्रम स्वीकृति

कर्णाली प्रदेशबाट चालु आर्थिक वर्षमा दुई हजार ३४३ जनाले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या अनलाइनको माध्यमबाट श्रम स्वीकृति लिनेको हो । 

२०७५ साल माघदेखि श्रम तथा रोजगार कार्यालय स्थापना गरी सुुर्खेतबाटै श्रम स्वीकृतिको सेवा दिइँदै आएको छ । पछिल्लो समय अनलाइन माध्यमबाट श्रम स्वीकृति सेवा दिन थालिएपछि कार्यालयमै आएर सेवा लिनेको सङ्ख्या घटेको छ ।

कार्यालयबाट पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै छ । यो वर्ष श्रम तथा रोजगार कार्यालय सुर्खेतबाट तीन हजार ५११ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । चालु आवको चैतसम्म दुई हजार ३४३ जनाले श्रम स्वीकृति लिएको कार्यालयका निमित्त श्रम अधिकृत शमशेर रानामगरले जानकारी दिनुभयो । 

एक पटक विदेशमा रोजगारी गरेर आएका र फेरि जान चाहेकालाई श्रम स्वीकृति दिँदै आएको उहाँको भनाइ छ । सहजताका लागि पछिल्लो समय श्रम स्वीकृति अनलाइन माध्यमबाट लिने व्यवस्था गरिएको छ । रानामगरले हाल सबैजसोले अनलाइनबाटै सेवा लिइरहेको जानकारी दिनुभयो ।