• १२ साउन २०८१, शनिबार

चाररातेमा पाँचसय चौँरी ( फोटो फिचर)

blog

फिदिम, वैशाख २ गते । भनिन्छ चौँरी र हिमाल एक अर्काका पर्याय हुन् । चौँरी विनाको हिमाल र हिमाल विनाको चौँरी कल्पना गर्न सकिँदैन । यी र यस्तै विषय मनन गर्दै पाँचथरको फालेलुङ गाउँपालिकास्थित चाररातेको सातौँ पटक चौँरी पर्यटन महोत्सव आयोजना गरिएको छ ।

चौँरी र तिनका प्रजातिहरू प्रदर्शनसँगै चौँरीको दुध र दुधजन्य वस्तुको प्रवर्धनका लागि आयोजना गरिएको महोत्सवमा नेपाल,भारत र सिक्किमका विभिन्न स्थानबाट आएका आन्तरिक र बाह्य पर्यटकको उपस्थिति थियो ।

पर्यटकको सहजताका लागि फालेलुङमा रहेका १८ वटा गोठबाट ल्याइएका ५ सयभन्दा धेरै चौँरी चौरमा भेला पारेर याक डान्ससहित विभिन्न विधामा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । 

महोत्सव स्थलमा रङ-रङका चौँरी देख्दा त्यहाँ पुगेका आन्तरिक पर्यटकलाई फोटो भिडियो खिच्न तिनका गतिविधि हेर्न भ्या नभ्याई देखिन्थ्यो । प्रत्येक नयाँ वर्षको अवसर पारेर यहाँ चौँरी महोत्सव आयोजना गरिन्छ ।

यो वर्ष फालेलुङ गाउँपालिका मुख्य प्रवर्धक रहेको महोत्सव आयोजना गर्न सङ्घीय सरकार मातहतको पर्यटन बोर्ड र कोशी प्रदेश सरकार मातहतको वन तथा वातावरण मन्त्रालयलगायतले आर्थिक सहयोग गरेका छन् ।

महोत्सवमा दीपज्योति युवा क्लब फालेलुङ कञ्चनजङ्घा पर्या पर्यटन संस्था र कञ्चनजङ्घा चौँरीपालन संरक्षण संस्थाले आयोजक र सूर्याेदय युवा क्लब फालेलुङ ४ ले व्यवस्थापनको जिम्मेवारी लिएका थिए ।

महोत्सवले चौँरीपालनप्रति युवाको आकर्षण बढाउनका साथै सीमा संरक्षण र फालेलुङका पर्यटकीय स्थलहरूको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताउनुभयो ।


Author

राधा लुइँटेल