• ११ मंसिर २०८१, मङ्गलबार

क्षेत्रपाल माविले मनायो स्वर्ण महोत्सव

blog

कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादव तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतलगायत ।

नुवाकोट, चैत १८ गते । लिखु गाउँपालिका चौघडाको क्षेत्रपाल माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । माध्यमिक तह स्थापनाको स्वर्ण महोत्सव पूर्व राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको थियो । 

उद्‌घाटनसँगै सरकारको नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत नवनिर्मित २४ कोठे कक्षाकोठा भवन र विथ लभ अर्गनाइजेशन रसियाको सहयोगमा स्थापित बाल खेल स्थलको समेत उद्‌घाटन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र कुमार राईले बताउनुभयो । उक्त अवसरमा क्षेत्रपाल माध्यमिक विद्यालय र क्षेत्रपाल अलम्नाई एसोसिएशनद्वारा संयुक्त रूपमा प्रकाशित क्षेत्रपाल स्वर्ण महोत्सव स्मारिकाको विमोचन समेत भएको थियो । 

कार्यक्रमका सञ्चालक तथा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीले स्मारिकाले विद्यालय स्थापनाका बेला संस्थापकहरूले निर्वाह गर्नुभएको भूमिकालाई अभिलेखीकरण गर्नुका साथै विद्यालयको लुकेको इतिहासलाई अभिलेखीकृत गरेको  बताउनुभयो । 

क्षेत्रपाल अलम्नाई एसोसिएशनका अध्यक्ष डा. विक्रम तिमल्सिनासहित पदाधिकारी, पूर्व विद्यार्थी, पूर्व शिक्षक, जिल्लाका सङ्घीय, प्रदेश र स्थानीय स्तरका जनप्रतिनिधि, विद्यार्थी तथा अभिभावकको उल्लेख्य उपस्थिति थियो । 

स्वर्ण महोत्सवका अवसरमा संस्थापक, जग्गादाता, अक्षयकोषका संस्थापक, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, उच्च प्राज्ञिक सफलता पाउनुभएका पूर्व विद्यार्थीहरू, उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकहरू, खेल क्षेत्रबाट विद्यालयलाई चिनाउनु हुने खेलाडीहरू तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरियो ।


प्रमुख अतिथि डा. यादवले शिक्षा राष्ट्रकै महत्त्वपूर्ण क्षेत्र भएकाले सबैले मिलेर यस क्षेत्रको उत्थानमा लाग्नुपर्ने र गुणस्तर अभिवृद्धि गर्नुपर्ने सन्देश दिनुभएको थियो । जिल्लाकै गौरवमय शैक्षिक इतिहास बोकेको र स्थापनाका दृष्टिले नुवाकोट जिल्लाकै दोस्रो पुरानो माध्यमिक विद्यालय क्षेत्रपाल माध्यमिक विद्यालय शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा जिल्लामै अब्बल पहिचान बनाउँदै आएको छ।