• १५ वैशाख २०८१, शनिबार

जोखिमपूर्ण काममा महिला कामदार

blog

राजन रावत 

हुम्ला, चैत १६ गते । गाउँघरबाट बाहिर निस्कन पनि लाज मान्ने र सार्वजनिक विकास निर्माणका कार्य नजाने महिला पछिल्लो समय जोखिमपूर्ण काममा देखिन थालेका छन्। महिला र पुरुषले एउटै कामबाट समान ज्याला पाउन थालेपछि यस्ता काममा महिला देखिएका हुन् । 

कर्णाली करिडोरको छारे खण्डमा नेपाली सेनाले गर्दै आएको सडक निर्माणको काममा सक्रिय जौमती बुढाले हिक्मतका साथ काम गर्दा सहजता भइरहेको बताउनुभयो । 

उहाँले जहिल्यै पनि महिला कमजोर भन्ने मानसिकता रहेकोमा त्यसलाई चिर्दै आफू चट्टान विस्फाेटका लागि ड्रिल मेसिनले होल खोप्ने  काम गरिरहेको बताउनुभयो । 

सोही भीरमा काम गर्दै आउनुभएकी पञ्चा रोकायाले काम गरे सकिन्छ भन्ने कुरा आफूले प्रमाणित गरेको बताउनुभयो । 

उहाँले श्रीमानले  जस्तै ड्रिल मेसिन चलाउनेदेखि चट्टान फुटाउने काम गर्दै आउनुभएको छ । उहाँले आफूसँग काम गर्ने पुरुषसँग बिहान आठ बजेदेखि बेलुका छ बजेसम्म काम गर्दै आउनुभएको छ । 

चट्टानी भिरमा पुरुषसँग काम गर्ने महिलाको सङ्ख्या पाँच छ । महिलासँगै काम गर्दै आउनुभएका धनमानसिंह भण्डारीले गरेपछि सकिन्छ भन्ने उदाहरण हाल छारे भिरमा काम गर्दै आउनुभएका महिलामा देखिएको बताउनुभयो । बेरोजगार हुनु र महिला पुरुषबिच समान ज्याला भएको कारण महिला काममा लागेको उहाँले बताउनुभयो । चट्टानी भिरमा सडक निर्माणकाे जिम्मा सेनाको भए पनि कामदार सबै स्थानीय छन् । 

छारे भिरमा पुरुषसँगै काम गर्दै महिला । तस्बिर : राजन रावत