• १५ वैशाख २०८१, शनिबार

स्वास्थ्य रणनीतिको फितलो कार्यान्वयन

blog

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, चैत १६ गते । स्वास्थ्य सेवाको पहुँच जनस्तरमा पुर्‍याउन २०७७ सालमा ल्याइएको प्रदेश स्वास्थ्य रणनीतिको कार्यान्वयन अवस्था फितलो देखिएको छ । कर्णाली प्रदेश सरकारले स्वास्थ्य सेवालाई जनस्तरमा लैजान तीन वर्षअघि स्वास्थ्य रणनीति बनाएको थियो । सो रणनीतिमा कार्यान्वयन गरिने योजना, कार्यक्रम र रणनीति समावेश गरिएको थियो । 

पछिल्लो तथ्याङ्कले कर्णालीका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्न नसकेको सङ्केत गरेको छ । विभिन्न तथ्याङ्कले अहिले पनि कर्णालीका तीन चौथाइ नागरिक स्वास्थ्यको आधारभूत पहुँचबाटै बाहिर रहेको देखाएको छ । स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समूहमा स्वास्थ्य सेवाको पहुँच र उपभोगमा अभिवृद्धि गर्ने प्रदेश सरकारको रणनीतिक लक्ष्य थियो । अहिले लक्ष्यबमोजिम काम हुन सकेको छैन । २०८२ सालसम्म शतप्रतिशत नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा जोड्ने गरी लक्ष्य राखिएको भए पनि लक्ष्य अनुरूप काम नै हुन सकेको छैन ।

भौगोलिक विकटता र आर्थिक अभावका कारण नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँचमा छैनन् । प्रदेश योजना आयोगको मध्यकालीन खर्च संरचना पुस्तकमा ५७ प्रतिशत नागरिक मात्र आधारभूत स्वास्थ्य सेवाको पहुँचमा रहेको उल्लेख गरिएको छ । आयोगका प्रशासकीय अधिकृत बुद्धिबहादुर खत्रीले सामाजिक विकास मन्त्रालय र मन्त्रालय मातहतका निकायबाट लिएको तथ्याङ्कका आधारमा ५७ प्रतिशत नागरिक मात्र सामान्य स्वास्थ्यको पहुँचमा रहेको पाइएको जानकारी दिनुभयो ।

आयोगको तथ्याङ्क अनुसार ४३ प्रतिशत नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन् । योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले प्रदेश सरकारले निर्माण गरेको स्वास्थ्य रणनीति अनुसार कार्यक्रम कार्यान्वयन हुन नसकेको बताउनुभयो । रणनीतिबमोजिम नीति, कार्यक्रम तथा बजेट विनियोजन नहुँदा रणनीति अलपत्र परेको उहाँको भनाइ छ । यद्यपि स्वास्थ्य रणनीति २०७७ अनुरूप काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले प्रदेशको स्वास्थ्य रणनीति अनुसार कार्यक्रम केन्द्रित गरिएको बताउनुभयो । स्थानीय सरकारसँगको समन्वयनमा काम भइरहेको उहाँको भनाइ छ । सामुदायिक स्वास्थ्य एकाइको विस्तार गरिएको, स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भइरहेको, विभिन्न संस्थाको सहयोगमा समेत स्वास्थ्यका कार्यक्रम सञ्चालन गरिरहेको बताइन्छ ।

केही वर्षअघिको एक सर्वेक्षण अनुसार कर्णालीका ७६ प्रतिशत नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँचबाहिर रहेको देखिएको छ । २४ प्रतिशत घरधुरी मात्र नजिकको सरकारी स्वास्थ्य संस्थाको पहुँचमा रहेको पाइएको छ । कर्णाली प्रदेशमा २४ प्रतिशत घरधुरी मात्र ३० मिनेटको दुरीमा नजिकको सरकारी स्वास्थ्य संस्थाको पहुँचमा रहेको देखिएको छ । 

यसै गरी ४८ प्रतिशत घरधुरीहरू ३० देखि ६० मिनेटको दुरीमा नजिकको सरकारी स्वास्थ्य संस्थाको पहुँचमा छन् । २९ प्रतिशत घरधुरी ६० मिनेटभन्दा बढीको दुरीमा सरकारी स्वास्थ्य संस्थाको पहुँचमा रहेका छन् । यसरी हेर्दा अझै पनि तीन चौथाइ नागरिक ३० मिनेटको दुरीमा आधारभूत स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका छन् । एक चौथाइ नागरिक मात्र ३० मिनेटको दुरीमा आधारभूत स्वास्थ्य सेवाको पहुँचमा छन् ।