• १३ साउन २०८१, आइतबार

अनलाइन क्यासिनो खेलाउने चार पक्राउ

blog

काठमाडौँ, चैत ६ गते । क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-७ चाबहिल बस्ने काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका-८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८ बेंसीगाउँ बस्ने खोटाङको बाहुनीडाँडा गाउँपालिका-६ घर भएकी २३ वर्षीया पूर्णिमा राई र काठमाडौँको गोकर्णेश्वर-४ नाम्गेल बस्ने नुवाकोटको शिवपुर गाउँपालिका-१ घर भएका २८ वर्षीय तेम्बा लामा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न खेलमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ परेकाहरुका साथबाट अनलाइन ‘गेम’ खेलाउन प्रयोग भएका ल्यापटप पाँच र मोबाइल ११ सहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । चारै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो । रासस