• १३ साउन २०८१, आइतबार

वाटरपार्कमा मोटरबोट सुरु

blog

नेपालगञ्जको धम्बोझीमा रहेको वाटरपार्क तालमा मोटरबोट सञ्चालन गरिँदै । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा
बाँके, चैत ६ गते ।
पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजिएको नेपालगञ्जको वाटरपार्कमा मोटरबोट सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले वाटरपार्कमा मोटरबोटको सञ्चालनसँगै आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको बताउनुभयो ।

बोटेबोरा प्रालिले वार्षिक १९ लाख ५५ हजार रुपियाँमा वाटरपार्कको ठेक्का पाएपछि पहिलो पटक मोटरबोटको परीक्षण सुरु गरिएको हो । प्रालिले १० वर्षका लागि ठेक्का पाएको छ ।  यो कम्पनीले चितवनको नारायणी नदीमा पानी जहाज सञ्चालन गरिरहेका कारण वाटरपार्कमा मोटरबोटले नियमितता पाउने वडाध्यक्ष रिजालले बताउनुभयो ।

वडाध्यक्ष रिजालले भन्नुभयो, ‘‘वाटरपार्कमा मोटरबोट चलसँगै यहाँको चहलपहल बढ्ने निश्चित छ ।’’ सोमबार राति नगरप्रमुख प्रशान्त विष्ट, वडा अध्यक्ष रिजालसहितको टोलीलाई राखेर मोटरबोटको परीक्षण गरिएको हो । वाटरपार्कमा मङ्गलबारदेखि सुरु हुन लागेको व्यापार मेलालाई दृष्टिगत गर्दै मोटरबोट चलाउन सुरु गरिएको हो ।

वाटरपार्क करिब १० बिघा क्षेत्रफलमा फैलिएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ र १८ मा पर्ने तालको चारैतिर आकर्षक सडक निर्माण गरिएको छ । पार्क वरिपरि बिहान र साँझको समयमा पदयात्रा गर्ने र समय बिताउनेहरु आउने गरेका छन् । यो तालसँगै नगरभित्र रहेका रानी तलाउ र कान्ति ताल जलविहारका लागि उपयुक्त छ । नगरकै ठुलो ताल कान्तितालमा भने हालसम्म जल विहारको व्यवस्था हुन सकेको छैन ।