नवराज सुवेदी
नुवाकोट, चैत्र ६ गते । नुवाकोटमा परम्परागत कृषि उत्पादनमा ह्रास आएको छ । पछिल्लो समय युवाहरू सहज र सुविधायुक्त जीवनयापनको लालसाले परदेशिने क्रम बढेसँगै ग्रामीण बस्ती उराठ देखिन थालेको छ । जसका कारण ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने परम्परागत कृषिक्षेत्र खुम्चिनुका साथै खाद्य प्रणालीमा असर गरेको छ ।
कृषिलाई मुलुकको अर्थतन्त्रको अनौपचारिक क्षेत्र मानिन्छ । जुन दिगो र भरपर्दो स्रोत हो । तर पछिल्लो समय ग्रामीण अर्थतन्त्रका खम्बा र आधार मानिने श्रम अर्थात् युवा जनशक्ति सहज जीवनको खोजीमा परदेशिने क्रम बढसँगै नुवाकोटको पहाडी ग्रामीण बस्ती उराठ बन्दै गएको छ । जसकाकारण अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रको आकार र उत्पादकत्व खुम्चिँदै गएको कृषि ज्ञान केन्द्र कार्यालय नुवाकोटका प्रमुख केशव खनालले बताउनुभयो ।
निर्वाहमुखी कृषिअन्तर्गत दशक अघिसम्म जिल्लाका पहाडी ग्रामीण भेगहरूमा मौसम तथा हावापानी अनुसार हिउँदे र वर्षेगरी सहजै तीनबाली हुने गरेका थिए । जसमा परम्परागत धान, मकै, गहुँ, कोदो र तोरीजस्ता बालीनाली लगाइने गरिन्थ्यो । पशुपालन र दुधबाट बनाइने परिकार गाउँको मौलिकता जस्तै थियो । निर्वाहमुखी यस्ता खेतीबाट प्राप्त कृषि उपज उपभोग पछि उम्रिएका अन्नपात लगायत दुधबाट बनाइने परिकार र पशुचौपयाको बिक्री र सञ्चिति नै ग्रामीण अर्थतन्त्रको भरपर्दो आधार भएको स्थानीय विष्णु सापकोटाले बताउनुभयो ।
यता श्रमशक्ति पलायनले विप्रेषण अर्थात् रेमिट्यान्समा वृद्धि देखिए पनि सामाजिक सद्भाव र सहकार्यसहितको गाउँघरका ऐँचोपैँचो र भारोपर्मजस्ता मौलिक परम्परा पनि मासिएको छ । जसले ग्रामीण पहाडी भेगका निर्वाहमुखी र आत्मनिर्भर कृषि प्रणाली समेत प्रभावित भएको छ । जसका कारण उत्पादनमा परोक्ष असरसहित जिल्लाको दिगो र भरपर्दो अर्थतन्त्रमा दूरगामी प्रभाव पारेको सामाजिक तथा अर्थविद् ठाकुर पुडासैनीले बताउनुभयो । तर अहिले गाउँघरमा श्रमिक तथा युवा जनशक्तिको अभावका कारण ग्रामीण पहाडी भेगका पाखो पखेरो र खेतबारी बाँझिनेक्रम बढ्दै गएको छ । साथै पशुपालन तथा गोठ र भकारोको प्रचलन समेत हट्दै गएको छ । जसका कारण स्थानीयस्तरमा परनिर्भरता ह्वात्तै बढाएको छ भने पशु आहार र मलको रूपमा प्रयोग हुने घाँसपात र भाञ्छामा प्रयोग हुने दाउराहरू समेत बारीमा त्यत्तिकै खेर गइरहेको विदुर नगरपालिका वडा नं ४ का स्थानीय श्रीकृष्ण आर्चायले बताउनुभयो ।
यसैबिच युवा पलायनले अहिले खेतबारी बाँझोका साथै गाउँमा खाने र खर्चगर्ने मुख अर्थात् महिला, बालबालिका र वृद्धवृद्धाको मात्रै उपस्थिति देखिएको छ । जसले सामाजिक सुरक्षामा समेत चुनौती थपेको छ भने परनिर्भरतालाई बढाउनका साथै आयात प्रतिस्थापन गर्ने सरकारी लक्ष्यलाई पर धकेले छ । विगतमा निर्वाहमुखी खेतीपाती नै ग्रामीण अर्थतन्त्रको आधार जस्तै थिए । उपभोगपछि उब्रिएको अन्नपात र पशुचौपायाको बिक्री र सञ्चितिले नै स्थानीयका गर्जो र अन्य घरखर्च टार्ने माध्यम थिए । तर अहिले युवा पलायनले जिल्लामा विप्रेषण बढेपनि यसले ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भरताबाट परनिर्भरतातर्फ धकेलेको छ ।