• १३ साउन २०८१, आइतबार

एक सय ४३ जना प्रहरीको निःशुल्क स्वास्थ्य जाँच

blog

निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउँदै प्रहरी कर्मचारी । तस्बिर: गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत ६ गते । नेपाल प्रहरीको नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौँको आयोजना र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको समन्वयमा बाँकेका विभिन्न एकाइमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

प्रहरी दिवस २०८० को अवसर पारेर सोमवार नेपालगन्जमा बाँकेका विभिन्न एकाइमा कार्यरत १ सय ४३ जना पुरुष तथा महिला प्रहरी कर्मचारीहरूको निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधि प्रदान गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा.अमिनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निःशुल्क स्वास्थ्य शिविरमा नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौँका प्राविधिक प्रहरी निरीक्षक डा.अमुदा रेग्मी र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जका प्राविधिक प्रहरी उपरीक्षक डा.अच्युतविक्रम हमाल नेतृत्वको चिकित्सक टोलीले प्रहरी कर्मचारीहरूको स्वास्थ्य जाँच गर्नुभएको वरिष्ठ उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

डा. श्रेष्ठका अनुसार शिविरमा उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोग, मुखको क्यान्सर तथा पाठेघरलगायतका विभिन्न रोगको स्वास्थ्य जाँच गरिएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा प्रहरीहरूको स्वास्थ्य जाँच गरिनुका साथै विभिन्न रोग र त्यसबाट बच्ने उपायहरूका बारेमा सचेतनासमेत प्रदान गरिएको थियो । साथै स्वास्थ्यसम्बन्धी विभिन्न जनचेतनामूलक सन्देश र पर्चा टेम्पलेट वितरण गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल प्रहरीको वार्षिक कार्यक्रमको क्यालेन्डरअनुसार नेपाल प्रहरी अस्पतालको आयोजनामा देशका विभिन्न जिल्लाका प्रहरी एकाइहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । शिविरमा बहालवाला प्रहरी कर्मचारी तथा भूतपूर्व प्रहरी कर्मचारी परिवारको स्वास्थ्य जाँच गरिएको थियो ।

यसअघि लुम्बिनी प्रदेश अन्तर्गत लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम, कपिलवस्तु र रुपन्देहीमा यस्तो शिविर सञ्चालन गरिएको थियो । चैत ७ गते कर्णाली प्रदेशको सुर्खेत र चैत ९ गते लुम्बिनी प्रदेशको दाङमा शिविर सञ्चालन गरिने डा. श्रेष्ठले बताउनुभयो । २४ सै घण्टा सुरक्षामा खटिने प्रहरीको स्वास्थ्य अवस्थाका बारेमा थाहा पाउनका लागि रोगको पहिचान तथा उपचार गर्ने शिविरको उद्देश्य रहेको उहाँको भनाइ छ ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जमा आयोजना गरिएको उक्त शिविरमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्ज, नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर तथा जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत तथा भूतपूर्व प्रहरी कर्मचारी परिवार गरी रहेका १ सय ४३ जना प्रहरी कर्मचारीको स्वास्थ्य जाँच गरिएको थियो ।