• १५ वैशाख २०८१, शनिबार

सुरुङमार्गको काम सुरु हुने

blog

काठमाडौँ, चैत ६ गते । एक महिनादेखि रोकिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु गर्ने सहमति भएको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा मन्त्रालयका सचिव, सडक विभागका पदाधिकारी, सुरुङमार्ग आयोजनाका पदाधिकारी, सुरुङमार्गपीडित सङ्घर्ष समितिका अध्यक्षसहितको सोमबार बसेको बैठकले सो सहमति गरेको हो । 

सहमति भएसँगै मङ्लबारदेखि सुरुङमार्गको काम सुरु हुने सो आयोजनाले जनाएको छ । स्थानीयले अवरोध गरेपछि फागुन ६ गतदेखि सुरुङ निर्माणलगायत आयोजनाको सबै काम रोकिएको थियो । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डमरूका अनुसार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले स्थानीयको माग सम्बोधन गर्ने आश्वासनदिनुभएपछि अवरोध नगर्ने सहमति भएको जानकारी दिनुभयो ।  

बैठकमा सहभागी सुरुङमार्गपीडित सङ्घर्ष समितिका अध्यक्ष ताराबहादुर खत्रीले सरकारले आफूहरूको माग सम्बोधन गर्ने भएपछि सुरुङ निर्माणमा कुनै बाधा अवरोध नगर्ने बताउनुभयो । स्थानीयले आयोजना क्षेत्रलाई समस्याग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने, खानेपानी तथा सिँचाइको पानी व्यवस्था गर्नुपर्ने, स्थानीयलाई रोजगारी व्यवस्था गर्नुपर्ने, क्षतिग्रस्त भएका घरको मर्मत गर्नुपर्नेलगायतका माग छन् ।

आयोजनाको सुरुङ खन्न मात्र १४ मिटर बाँकी रहेको अवस्थामा स्थानीयले अवरोध गर्दा अहिले कुनै पनि काम अगाडि बढ्न सकेका छैनन् । आयोजनाले फागुन २३ गते सुरुङ छिचोल्ने कार्यक्रम तय गरे पनि रोकिएको थियो । 

तीस करोड घाटा

काम रोकिँदा आयोजनालाई ३० करोड रुपियाँ क्षति भएको आयोजना उपप्रमुख डमरूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्झौता अनुसार काबुबाहिरको प्राकृतिक विपत्बाहेक बन्दहडतालका कारण काम अवरोध भएमा आयोजनाले निर्माण कम्पणीलाई दैनिक एक करोड रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ । 

त्यसै गरी काम रोकिएको समयजति आयोजनाको म्यादसमेत थप्नुपर्ने हुन सक्छ ।” जस अनुसार अब सरकारले आयोजना निर्माण गरिरहेको कम्पनी हाज्मालाई थप ३० करोड रुपियाँ जरिबाना तिर्नुपर्ने छ । आयोजनाको कुल लागत २० अर्ब ६० करोड रुपियाँ रहेकोमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का तर्फबाट १५ अर्ब ८० करोड र नेपाल सरकारका तर्फबाट चार अर्ब ८० करोड रुपियाँ उपलब्ध गराइएको छ ।