• १३ साउन २०८१, आइतबार

‘पर्यटनलाई अगाडि बढाउन सरकार प्रतिबद्ध छ’

blog

कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिरः विनाश चौधरी

अविनाश चौधरी

धनगढी, चैत ५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटनलाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज धनगढीको चैतन्य पाठशालामा ‘भू–स्वर्ग परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तक विमर्श समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।

क्याप्टेन वेद उप्रेतीद्वारा लिखित पुस्तकले सुदूरपश्चिमलाई चिनाउने जमर्को गरेको भन्दै उहाँले भू–स्वर्ग सुदूरपश्चिमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चिनाउन आवश्यक रहेको बताउनभयो । 

सबैले आफ्नो कर्म गरेमा समृद्ध सुदूरपश्चिम बनाउन समय नलाग्ने मुख्यमन्त्रीले चर्चा गर्नुभयो । ‘प्रदेश सरकारले मानसखण्ड सम्मेलन, खप्तड आध्यात्मिक सम्मेलन आयोजना गर्नुको उद्देश्य पनि पर्यटन विकासकै लागि थियो” मुख्यमन्त्री शाहले भन्नुभयो, “यसैवर्ष रामारोशनमा तीन हजार बढी पर्यटक आउँदा यसको प्रचारप्रसार विश्वमै भएको छ ।”

प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले क्याप्टेन उप्रेतीले किताबमार्फत विकासका लागि दबाब सिर्जना गरेको उल्लेख गर्नुभयो । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले प्रदेशमा भारतीय पर्यटक भित्र्याउन नाका सहज बनाउन र पर्यटकका सुरक्षाको ग्यारेन्टी गर्न आवश्यक रहेको औँल्याउनुभयो । 

त्यस्तै, प्राध्यापक डा. हेमराज पन्तले पर्यटन विकासका लागि पूर्वाधारमा जोड दिन आवश्यक रहेको बताउनुभयो । नाट्टा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले सुदूरपश्चिम प्रदेशको विकासका लागि पर्यटन महत्त्वपूर्ण क्षेत्र रहेको स्पष्ट पार्नुभयो । 

पुस्तकमाथि समीक्षा गर्दै प्राध्यापक सीताराम भट्टले क्याप्टेन उप्रेतीद्वारा लिखित पुस्तक सुदूरपश्चिमको विकासका लागि ‘रोड म्याप’ रहेको टिप्पणी गर्नुभयो । पुस्तकले समृद्धि र विकासका लागि चिन्तन गरेको उहाँको भनाइ छ । 

क्याप्टेन वेद उप्रेतीले चराको आँखाबाट आफूले सुदूरपश्चिमलाई कैद गरेर सम्भाव्यताको मार्गदर्शनका लागि पुस्तक लेखेको चर्चा गर्नुभयो । उप्रेतीले भन्नुभयो, “यो कफी टेबुल बुक हो । यसमा सम्भाव्यता देखाइएको छ । जुन सम्भाव्यतालाई २० प्रतिशत मात्र पनि पछ्याउने हो भने प्रदेश समृद्ध बन्न सक्छ ।”