• १६ वैशाख २०८१, आइतबार

‘क्रिकेट विकासमा सहयोग गर्न नेपाल आएँ’

blog

आइसिसीका अध्यक्ष ग्रेग बार्कलेलाई स्वागत गर्दै क्यानका पदाधिकारी । तस्बिर : क्यान

काठमाडौँ, चैत ५ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताउनुभएको छ ।

भारतको नयाँ दिल्लीबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएका बार्कलेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गर्नुभएको थियो ।

विमानस्थलमा उहाँले सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनुभयो । तीन दिने भ्रमणका क्रममा उहाँले नेपाली क्रिकेटको संरचनाबारे निरीक्षण गर्ने जानकारी पनि दिनुभयो । उहाँले कीर्तिपुरस्थित त्रिवि र मूलपानी क्रिकेट मैदानको अवलोकन समेत गर्नुहुनेछ ।

नेपाल उत्कृष्ट एसोसिएट राष्ट्रमध्ये एक रहेको उल्लेख गर्दै उहाँले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको धारणा राख्नुभयो । नेपालमा क्रिकेट लोकप्रिय रहेको र अझै क्रिकेटकै साथमा रहन उहाँले समर्थकलाई आग्रह गर्नुभयो ।

नेपाल भ्रमणमा क्रममा बार्कलेल प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे पनि छलफल हुनेछ । लामो समय न्युजिल्यान्ड क्रिकेट बोर्डको नेतृत्व गर्नुभएका बार्कले सन् २०२० मा आइसिसीको अध्यक्ष बन्नुभएको थियो ।