• १३ साउन २०८१, आइतबार

सामुदायिक वनमा लागेको डढेलोले दुई घर जल्यो

blog

सामुदायिक वनमा लागेको डढेलोले जलेर नस्ट भएको यमनाथ घिमिरेको घर । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ५ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा सामुदायिक वनमा लागेको डढेलोले सोमबार दुई वटा जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार डढेलोले फूलबारीका स्थानीय रुद्र फुयाँल र यमनाथ घिमिरेको घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् । 

फूलबारीस्थित नाबु काबेली सामुदायिक वनमा लागेको डढेलोले वन नजिक रहेको फुयाँल र घिमिरेको घर जलेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गीलीका अनुसार ढुङ्गा र माटोले बनेको फुयाँल र घिमिरेको दुईतले घर सोमबार दिउँसो २ बजे जलेको छ ।

डढेलाका कारण आगलागी हुँदा घरमा रहेको खाद्यान्न, भाँडावर्तत, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो । फुयाँलको घरसँगै रहेको खाद्यान्न मिलसमेत जलेर नष्ट भएको छ । सो आगलागीबाट फुयाँलको करिब १० लाख र घिमिरेको चार लाख रुपियाँ बराबरको क्षति भएको उहाँले बताउनुभयो ।

डढेलो नियन्त्रणमा इलाका प्रहरी कार्यालय दोभान, प्रहरी चौकी हाङ्पाङ र प्रहरी चौकी फूलबारीका प्रहरी जनशक्ति र स्थानीय जुटेका पनि प्रहरीले जनाएको छ । वनमा लागेको डढेलो नियन्त्रणमा भने आइनसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।