• १३ साउन २०८१, आइतबार

बिम्स्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन : परराष्ट्रमन्त्री

blog

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ।

काठमाडौँ, चैत ५ गते । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिम्स्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभा बैठकमा सोमबार बिम्स्टेक वडापत्रमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले सार्कको सट्टामा बिम्स्टेकलाई स्वीकार गरिएको होइन भनी प्रष्ट पार्नुभएको हो ।

उहाँले बिम्स्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम रहेको बताउनुभयो । उहाँले सार्कलाई पुनः क्रियाशील बनाउन सरकारले प्रयत्न गरिरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम छ । बिम्स्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन । सार्कको सट्टामा बिम्स्टेकको रूपमा हामीले यसलाई स्वीकार गरेका होइनौँ । हामीले यस रूपमा लिँदैनौँ । सार्कको महत्त्व आफ्नो ठाउँमा छ । 

सार्कलाई पुनः क्रियाशील गराउन र यसको सम्मेलनको आयोजना गर्न नेपाल सरकारले गरिरहेको प्रयत्नलाई अझ प्रभावकारी रूपमा अगाडी बढाउन सरकार लागिपर्ने विश्वास सदनलाई दिन चाहन्छु । सार्कको औचित्य र आवश्यकता अनि महत्वलाई बिम्स्टेकले प्रतिस्थापन गर्न सक्दैन भन्ने सरकारको स्पष्ट दृष्टिकोण छ । सार्कलाई क्रियाशील बनाउन, सम्मेलन आयोजना गर्न पहल र प्रयत्नलाई अगाडी बढाउन हामी सम्पूर्ण प्रयत्न गर्ने विश्वास स्पष्ट पार्न चाहन्छु ।’’

उहाँले बिम्स्टेकबाट नेपालले लाभ प्राप्त गर्नेगरी अगाडी बढ्ने कुरामा सरकार सकारात्मक रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।