• १३ साउन २०८१, आइतबार

‘सुन होस् कि सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छ’

blog

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महत संसद भवन परिसरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत ५ गते । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कुनैपनि सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले कानुनी शासनको पालना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरूमाथि प्रश्नहरू उठ्यो भने गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभयो । उहाँले सुन प्रकरणको बारेमा वा सहकारी हिनामिना प्रकरणबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभयो ।

‘‘हामी सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा छौँ । कुनैपनि सार्वजनिक जीवनमा रहेका जो कोहीले पनि यो जुन मूल्य र मान्यता छ, कानुनी शासनको व्यवस्था जुन छ, त्यो उच्च मर्यादालाई हामी सबैले पालना गर्नुपर्छ । जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरूमाथि प्रश्नहरू उठ्छ, अनुसन्धानले केही समस्या देखाउँछ भनेदेखि त्यसको गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्छ ।,’’ सांसद महतले भन्नुभयो, ‘‘अनुसन्धानले जे निष्कर्ष निकाल्छ, त्यसको स्वीकार सबैले गर्नुपर्छ । हामी के चाहन्छौँ भने जुनसुकै विषयमा अनुसन्धान होस् । चाहे सहकारीको विषय होस्, सुनको विषय होस्, अन्य विषय होस् । जो व्यक्तिहरू सार्वजनिक जीवन वा बाहिर हुनुहुन्छ, उहाँहरूको संलग्नता देखिन्छ भने कानुनको परिधिमा आउनुपर्छ । जसको बारेमा प्रश्न उठ्छ, जुन विषय अनुसन्धानको घेरामा छ । जुन निकायमा रही रहँदा त्यो अनुसन्धानमा सम्झौता हुने अवस्था हुन्छ, त्यसमा प्रश्न स्वाभाविक रहन्छ ।’’

उहाँले सार्वजनिक जीवन व्यतीत गरिरहेका व्यक्तिहरूमा अनियमितताको प्रश्न उठेको खण्डामा कानुनको दायरामा आउनुपर्ने बताउनुभयो ।