• १३ साउन २०८१, आइतबार

शुक्रबारबाट एक घण्टामा श्रम स्वीकृति

blog

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै । तस्बिर गोरखापत्र

काठमाडौं, चैत ५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताउनुभएको छ । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

आगामी शुक्रबारबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिनेगरी तयारी सुरु भएको बताउनु भयो । उहाँले एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिनसक्ने अवस्था बनाउने दाबी गर्नुभयो ।

उहाँले आफूले यो निर्देशन विभिन्न अध्ययन गरेर सक्ने भएपछि मात्रै दिएको बताउनुभयो । मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुःख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निर्देशन दिनुभन्दा अघि १४ दिन हामीले काम गरिसकेका छौँ । सकिन्छ भनेर नै निर्देशन दिइएको हो । १५ दिन पनि लागेको छ, छिटो दिँदा तीन दिन पनि लागेको छ । टायम लगाइदिने, कर्मचारीले नै त्यसलाई ब्लक गरिदिने, कर्मचारीलाई भ्रष्टाचार गर्नलाई सजिलो बनाइदिने, काठमाडौँ बस्दाखेरी पाँच दिन काठमाडौँ बस्नुभयो भने ५० हजार लाग्छ, म २० हजार दिए बनाइदिन्छु भन्ने ।,’’ मन्त्री अर्यालले भन्नुभयो, ‘‘बिचमा दलालहरूले खेलेको भन्नेकुरा आइरहेको हुनाले यसमा त्यो अध्ययनको पाटो भयो । त्यसमा अध्ययन गरिरहेका छौँ । अर्को श्रमिक काठमाडौँ बाहिरबाट आएर धेरै दिन काठमाडौँ बसेर विदेश जानुपर्दा उहाँहरूलाई झनै दुःख हुन्छ । समयमा श्रम स्वीकृति नदिँदा फ्लाइट टिकट पनि क्यान्सिल गर्नुपर्छ । हामी यसमा संवेदनशील हुनुपर्छ भनेर लागेको हो । आउने शुक्रबारबाट हामी एक घण्टामै श्रम स्वीकृति दिने प्रक्रियामा जानसक्छौँ । एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिनसक्ने बनाउँछु ।’’

उहाँले कर्मचारीहरूले नै समय लगाएर भ्रष्टाचार गर्न सहज बनाइदिने गरेको गुनासो आएपछि आफूले एक घण्टामै श्रम स्वीकृति दिने व्यवस्था मिलाएको बताउनुभयो ।