• १३ साउन २०८१, आइतबार

नर्स हत्या प्रकरण : आरोपित युवा मृत फेला

blog

मोरङ, चैत ५ गते । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न आरोपित युवा मृत फेला परेका छन् । दासको हत्या गरेको आरोप लागेका सिरहाको लहान नगरपालिका-२१ का २३ वर्षीय शिवशङ्कर दास विराटनगर महानगरपालिका-४ स्थित होटल फाइन एण्ड लजमा आइतबार राति मृत फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार सो होटलमा खानतलासी गर्दा शिवशङ्कर झुन्डिएको अवस्थामा फेला परेका थिए । चन्द्रिकाकुमारीको हत्यामा संलग्न रहेका शिवशङ्कर गत फागुन २६ गते मलेसियाबाट नेपाल फर्केका थिए । सिरहाको धनगढी नगरपालिका-६ फुल्काहापट्टी घर भएकी चन्द्रिकाकुमारीको विराटनगर-४ बुढाथोकी मार्गको एउटा घरमा गत शुक्रबार हत्या गरिएको थियो ।उनको शव परीक्षणपछि परिवारलाई बुझाइएको प्रवक्ता दाहालले बताउनुभयो । चन्द्रिकाकुमारी र शिवशङ्करबिच प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । रासस