• १३ साउन २०८१, आइतबार

बिम्स्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइयो

blog

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी

काठमाडौं, चैत ५ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिम्स्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताउनुभएको छ l सोमबार प्रतिनिधि सभा बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको बिम्स्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सार्क आन्दोलनलाई ओझेलमा पार्न बिम्स्टेकको खेती गरिएको बताउनुभयो । उहाँले दक्षिण एसियामा शक्तिशाली सङ्गठन भनेकै सार्क भएकाले सशक्त बनाएर अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मैले के आशा गरेको थिएँ भने बिम्स्टेक जन्मियो किन ? सार्कलाई किन ओझेलमा किन पारियो ? त्यतातिर हाम्रो परराष्ट्रमन्त्रीजीले केही जानकारी गराउनु हुन्छ की भन्ने थियो । खालि बिम्स्टेकको कुरा गरेर सिद्ध्याइदिनुभयो । म निराश भएँ । दक्षिण एसियामा हाम्रो सार्क हो नि, शक्तिशाली सङ्गठन । यो बिमस्टेक किन खोल्नुपर्‍योभन्दा भारत, चीनका अगाडि भाले हुन नसक्ने, पाकिस्तानसँग शत्रुतापूर्ण सङ्घर्ष सधैँ । त्यसो भएकाले सार्क आन्दोलनलाई ओझेलमा पार्न यो भारतको योजना हो । बिम्स्टेक सार्कलाई ओझेल पार्नका लागि नै हो । सार्कलाई यो स्थितिमा पुर्‍याउनुको मुख्य कारण भारत नै हो ।’’ उहाँले बिम्स्टेक सार्कलाई ओझेल पार्नका लागि नै ल्याइएको बताउनुभयो ।