• २१ वैशाख २०८१, शुक्रबार

सिक्टाले लिफ्टिङ सिँचाइ योजना सञ्चालन गर्दै

blog

सिक्टा सिँचाइ आयोजनाको पश्चिमी नहरबाट पानी तान्दै किसान । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत ५ गते । सिक्टा सिँचाइ आयोजनाले बाँकेका केही ठाउँमा लिफ्टिङ सिँचाइको योजना पनि सञ्चालन गर्ने भएको छ । 

सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा डिभिजनल इञ्जिनियर सन्देश पौडेलले बाँकेको राप्ती सोनारी गाउँपालिका –८ बालापुर र वडा ९ को ढकेरी तथा वडा २ कचनापुर क्षेत्रमा परीक्षण परियोजनाको रुपमा विद्युतबाट सञ्चालन हुने लिफ्टिङ सिँचाइको योजना निर्माण गरिने बताउनुभयो ।

उहाँले लिफ्टिङ सिँचाइका लागि ढकेरी र बालापुरमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ काम सुरु हुने चरणमा रहेको र कचनापुरमा केही समयपछि ठेक्का हुने बताउनुभयो । 

उहाँले सिक्टा सिँचाइ आयोजनाको नहरबाट सिँचाइ हुन नसकेका क्षेत्रमा किसानलाई लिफ्टिङ प्रविधिबाट नहरको पानी तानेर सिँचाइको सुविधा पुर्‍य ाउने लक्ष्य रहेको बताउनुभयो । नहरनजिक भए पनि अग्लो जग्गा भएकाले राप्ती सोनारीको वडा २, ८ र ९ का खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । 

राप्ती सोनारी –९ का वडाध्यक्ष सोहनलाल थारुले सिँचाइ पुग्न नसकेको स्थानका लागि लिफ्टिङ सिँचाइको व्यवस्था हुन थालेको सुनेर किसानहरु खुशी भएको बताउनुभयो । 

लिफ्टिङ सिँचाइको योजना कार्यान्वयनका लागि राप्तीसोनारी –९ मा स्थानीय रामबहादुर भण्डारीको अध्यक्षतामा ढकेरी लिफ्ट जल उपभोक्ता संस्था स्थापना गरिएको छ । लिफ्टिङ सिँचाइ योजनाका लागि सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्षमा चार करोड रुपियाँ विनियोजन गरिएको आयोजनाले जनाएको छ ।