• १३ साउन २०८१, आइतबार

वर्षातको पानी सङ्कलन र व्यवस्थापन आवश्यक: मन्त्री बस्नेत

blog

काठमाडौँ, चैत ५ गते । ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतले वर्षातको पानी सङ्कलन र व्यवस्थापन गरी दिगो विकासका लक्ष्य हासिल गर्न सकिनेमा जोड दिनुभएको छ । ललितपुरमा सुरु ‘वर्षातको पानी सङ्कलन र व्यवस्थापन’ विषयक क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “जलवायु परिवर्तनका कारण पानीका परम्परागत स्रोत सुक्दै गएका छन् । त्यसैले आगामी दिनमा पानीको समस्या आउन नदिन वर्षाको पानी सङ्कलन र व्यवस्थापन आवश्यक छ ।”

उहाँले जलवायु परिवर्तनको बढ्दो समस्याले पानीको मुहान सुक्ने खतरा बढिरहेको भन्दै पानी स्रोत नै सुरक्षित भएन भने हाम्रो भविष्य पनि सुरक्षित नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको सहज उपलब्धता हुनुपर्नेमा दिगो विकासका लक्ष्यले जोड दिएको छ । पानीको उपलब्धता बढाउन वर्षातकाे पानी सङ्कलन र व्यवस्थापनमा जोड दिनुपर्छ ।” बढ्दै गएको पानीको अभाव र अधिक वर्षाका कारण हुने क्षतिलाई दृष्टिगत गरी तिनको समाधान खोज्न स्मार्टवास सोलुसन्स् प्रालि र नेदरल्याण्ड्स विकास नियोग संस्था (एसएनभी) नेपालको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल रेनवाटर हार्भेष्टिङ् एलायन्सको समन्वयमा सम्मेलन सुरु भएको हो । 

सम्मेलन भोलिसम्म चल्ने छ । सम्मेलनको सहआयोजकमा इन्टरनेशनल रेनवाटर हार्भेष्टिङ एलायन्स, वाटर एड नेपाल, नेपाल वाटर फर हेल्थ र डब्ल्युडब्ल्युएफ छन् । युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नगर विकास कोष, बायोग्यास सपोर्ट प्रोग्राम, हेल्भेटास नेपाल, नेपाल खुला विश्वविद्यालय, ग्लोबल पिस फाउण्डेशन, दियालो टेक्नोलोजिज, यूथ एलायन्स इन्भाएरोमेन्ट र वेस्ट पानीलगायत सङ्घसंस्थाले सम्मेलनलाई सहयोग गरेका छन् ।

जलवायु परिवर्तनको असरले पानीको अभाव हुनसक्ने भन्दै समयमै समस्याको पहिचान र समाधानमा लाग्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो । उहाँले पानी स्रोत संरक्षणमा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “नेपालमा आकाशे पानी सङ्कलन र व्यवस्थापनको राम्रो सम्भावना छ । पानीको सङ्कट निम्तिएमा मानव समुदाय, कृषि, तथा जैविक विविधता संरक्षणमा ठुलो असर पुग्छ”, उहाँले भन्नुभयो, “पानी अभावले हुनसक्ने सम्भावित जोखिम र असरबाट जोखिन सबैको पहल आवश्यक छ ।” 

त्यसअवसरमा पूर्वमन्त्री गणेश साहले पानीको स्रोत संरक्षण, व्यवस्थापन तथा आकाशे पानी सङ्कलन व्यवस्थापनमा जोड दिनुभएको छ । स्मार्ट वास सोलुसन्स् एवम् आयोजक समितिका अध्यक्ष ई रामदीप साहले पानी जीवनका लागि अत्यावश्यक भएको भन्दै पानीका मुहान संरक्षणको महत्वबाट प्रकाश पार्नुभयो । “जहाँ पानी प्रचुर मात्रामा उपलब्ध छ, त्यहाँ मानव सभ्यता विकास हुँदै गएको छ । भौतिक र औद्योगिक विकास बढ्दै गइरहेका छन्”, उहाँले भन्नुभयो, “जहाँ पानीको अभाव छ, ती स्थानहरू भौतिक र मानवीय विकासको सूचकाङ्कमा पछि परेका छन् ।”  

उहाँले जलवायु परिवर्तनका कारण नियमित वर्षामा भइरहेको अवरोधले पानीका परम्परागत स्रोतमा पनि प्रतिकुल असर परिरहेको र पानीका मूलहरू सुक्दै गएको बताउनुभयो । हिउँ पग्लने गति बढिरहेकोमा उहाँले चिन्ता जनाउनुभयो । “एक अनुमानमा सन् २०५० सम्म विश्वका पाँच अर्ब ७० करोड मानिसहरूले वर्षमा एक महिना खानेपानीको पनि अभावको सामना गर्नुपर्ने उल्लेख छ”, साहले भन्नुभयो, “एकातिर पानीको अभावको भयावह स्थिति छ भने अर्कोतर्फ जलवायु परिवर्तनका कारण संसारभर वर्षाको प्रवृत्ति परिवर्तन भइरहेको छ ।”

उहाँले सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरूले ३१ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो । ती कार्यपत्रहरू वर्षातको पानी सङ्कलन र व्यवस्थापनका नीति, नियमन र संस्थागत ढाँचा, सन् २०३० सम्म सबैका लागि स्वच्छ खानेपानी आपूर्ति गर्ने दिगो विकास लक्ष्यको सन्दर्भमा वर्षातको पानीको उपयोगितालगायत विषयमा केन्द्रित हुने उहाँको भनाइ छ । रासस