• १३ साउन २०८१, आइतबार

गण्डकी मन्त्रिपरिषद् पुनर्गठन, मनाङे पुनः मन्त्री

blog

फडिन्द्र अधिकारी

लेखनाथ, चैत ५ गते । कामचलाउ अवस्थामा पुगेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार नयाँ मन्त्री नियुक्त गर्नुभएको छ । 

आइतबार नेकपा (एकीकृत समाजवादी) छाडेर स्वतन्त्र हैसियत माग्नुभएका राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्त गरिएको छ । 

नयाँ मन्त्रीको शपथ साढे ३ बजे गर्ने तयारी भइरहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो । गुरुङ मानाङ (२) बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्विरोध निर्वाचित हुनुभएको थियो । 

विजयी बनेपछि एकीकृत समाजवादी प्रवेश गर्नुभएका गुरुङ अघिल्लो कार्यकालमा पनि सोही क्षेत्रबाट चुनिनुभएको थियो । नेपाली कांग्रेस नेतृत्वको सरकारले सरकार जोगाउन सबैभन्दा आकर्षक मानिएको भौतिक पूर्वाधार मन्त्रालय गुरुङलाई दिएको छ । 

केन्द्रमा सत्ता गठबन्धन बद्लिएपछि माओवादी केन्द्रले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसअघि फागुन २२ गते मुख्यमन्त्री पाण्डेले सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको थियो । 

माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि चैत २१ गतेभित्र गण्डकी सरकारले विश्वासको मत लिनुपर्ने अवस्था छ ।  ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७ सांसद छन् । गुरुङको समर्थनले पनि सरकारलाई विश्वासको मत मिल्ने अवस्था भने छैन । 

३१ सांसदको समर्थन जुटाउन अहिलेको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसदको समेत समर्थन हुँदा पनि पुग्दैन । केन्द्रमा सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई राप्रपाले समर्थन गरेमा सरकार बनाउने सहज हुने देखिन्छ । एमालेसँग २२, माओवादी केन्द्रमा सभामुखसहित ८ सांसद छन् ।