• १५ वैशाख २०८१, शनिबार

‘सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न भूमिका खेल्छु’

blog

सिंहदरबारस्थित सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको कार्यकक्षमा समिति सभापतिको पदभार ग्रहण गर्नुहुँदै सोनम गेल्जेन शेर्पा । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत ५ गते । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनम गेल्जेन शेर्पाले पदभार ग्रहण गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो ।

आजै उहाँ समितिमा निर्विरोध निर्वाचित हुनुभएको थियो । समितिको सभापतिमा एउटा मात्रै मनोनयन दर्ता भएसँगै समितिको सोमवारको बैठकबाट उहाँ निर्वाचित हुनुभएको हो । साथै आज नै सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।

सभापति शेर्पाले सरोकार समितिलाई अधिकार क्षेत्र पनि किटान गरेर दिइएको र नेपालको संविधानको परिधिभित्र रहेर काम गर्ने बताउनुभयो । उहाँले प्रतिपक्षभन्दा पनि सरकारलाई सहजीकरण हुने गरेर सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न आफ्नो भूमिका हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीलाई अधिकार क्षेत्र पनि किटान गरेर दिइएको छ । नेपालको संविधानको परिधिभित्र रहेर हामी काम गर्छौँ । हामी प्रतिपक्षभन्दा पनि सरकारलाई सहजीकरण गरेर सरकारलाई राम्रो काम गर्ने वातावरण बनाउँछौँ । नतिजामुखी भएर काम गर्दछौँ ।’’ उहाँले नतिजामुखी भएर समितिको काम गर्ने बताउनुभयो ।