• १३ साउन २०८१, आइतबार

चोरीको मोटरसाइकलसहित एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

blog

ट्राफिक प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको सक्षम गुरूङ । तस्बिर : ट्राफिक प्रहरी

काठमाडौं, चैत ५ गते । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ भंगालबाट आइतबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँकै चाबहिल बस्ने १८ वर्षीय सक्षम गुरुङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश-०२-२७ प ४३ ०३ नम्बर राखी चलाइरहेको अवस्थामा गुरुङलाई आइतबार ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका गुरुङले उक्त मोटरसाइकल अन्य व्यक्तिबाट लिएको बताएका छन् ।  थप अनुसन्धान तथा कारबाहीका लागि गुरुङलाई प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।

बागमती प्रदेश-०२-०२३ प ०४७२ नम्बरको बुलेट मोटरसाइकल काठमाडौँको टोखा इन्द्रेणीपुलबाट  हराएको भनी मोटरसाइकल धनी धादिङको गङ्गा जमुना गाउँपालिका ७ का प्रकाश श्रेष्ठले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि गत मङ्सिर २६ गते निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकलसहित गुरुङ नियन्त्रणमा आएका हुन् ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले सम्पूर्णलाई अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग हुनुपर्ने समेत प्रवक्ता श्रेष्ठले बताउनुभयो  ।