• १६ वैशाख २०८१, आइतबार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन

blog

काठमाडौँ,  चैत ५  गते । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद पन्तलाई सभापतिमा चयन गरेको हो ।

नवनिर्वाचित सभापति पन्तलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराउनुभयो । उहाँले नवनिर्वाचित सभापति पन्तलाई बधाई तथा शुभकामनासमेत दिनुभयो । 

राष्ट्रिय सभा नियमावलीअनुसार समितिको सभापति पदमा निर्वाचित सदस्यले राष्ट्रिय सभाका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ । नवनिर्वाचित सभापति पन्तले शपथ लगत्तै पद बहाली गर्नुभयो । समितिको सभापतिको कार्यकाल दुई वर्षको हुन्छ ।

सो अवसरमा सभापति पन्तले समितिको कार्यक्षेत्रबमोजिम सुशासन कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दिगो विकासका लक्ष्य हासिल गर्न आर्थिक सबलीकरण, जलवायु परिवर्तनको जोखिम न्यूनीकरणलगायत महत्वपूर्ण विषयलाई प्रभावकारी रुपमा उठाउने बताउनुभयो । 

सभापति पन्तले समितिको कार्यक्षेत्रसँग जोडिएका विषयलाई ‘टिमवर्क’ (समूहमा मिलेर गरिने काम) मार्फत प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई समितिकातर्फबाट सहजीकरण गर्ने बताउनुभयो । भ्रष्टाचार न्यूनीकरण नभएसम्म सुशासन प्रवर्द्धन नहुने भन्दै उहाँले त्यसतर्फ समिति क्रियाशील रहने बताउनुभयो । रासस