• १३ साउन २०८१, आइतबार

आगलागी पीडितलाई राहत सहयोग

blog

आगलागी पीडितका लागि राहत सामग्री । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, चैत ५ गते ।
आगलागी भएर घर, गोठ जलेर नष्ट भएका पीडित हेटौँडा–१८, सुकौराका मदनकुमार तामाङ बललाई हेटौँडा उपमहानगरपालिकाले राहत सहयोग प्रदान गरेको छ । शनिबार दिउँसो घर नजिकैको पाखो डाँडामा लागेको डढेलो गोठबाट घरमा सल्किँदा सुकौरामा बसोबास गर्दै आएका तामाङको घरगोठ जलेर नष्ट भएको थियो ।

चार सन्तानका बाबु रहेका तामाङ एक छोरासहित गोठालो गएको र उहाँको श्रीमती मेलामा गएको समयमा लागेको आगोले उहाँको घरगोठसहित खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको थियो । घरमा कोही नभएको र गोठमा बस्तुभाउ नभएका कारण ठुलो क्षति हुन पाएन आइतबार घरमै पुग्नुभएकी नगरप्रमुख लामालाई पीडित परिवारले सुनाउनुभयो ।


परिवारका कुनै सदस्य घरमा थिएनौं, गाउँलेले निभाउने प्रयास गरे पनि नसकेको उहाँको भनाइ छ । एक रात जलेको घर नजिकै रहेको छिमेकीको घरमा सहारा लिएर बसेको बताउँदै गाउँसम्म समस्या बुझ्न आएकोमा नगरप्रमुखलाई पीडित परिवारले धन्यवाद दिनुभयो ।

उपमहानगर क्षेत्रमा रहेपनि भौगोलिक हिसाबले निकै विकट रहेको हेटौँडा–१८ सुकौंरामा नगरप्रमुख राहत सामग्रीसहित पुग्नुभएको थियो । पीडितको घरमा पुग्नुभएकी नगरप्रमुख लामाले घर निर्माणका लागि नगरप्रहरीले सहयोग गर्ने बताउनुहुँदै अहिलेका लागि दैनिक गुजारा र बसोबासका लागि आवश्यक सामग्री हस्तान्तरण गर्नुभयो ।

उपमहानगरबाट सिरक, डस्ना, खाद्यान्न, आवश्यक भाँडाकुँडा, त्रिपालसहितको सामग्री पीडित तामाङको परिवारलाई हस्तान्तरण गरिएको छ । यस्तै घर निर्माणका लागि जस्तापाता पनि दिइएको उपमहानगरपालिकाले जनाएको छ । जस्ताको घर निर्माणका लागि उपमहानगरले नगर प्रहरीलाई परिचालन गरेको छ ।