• १६ वैशाख २०८१, आइतबार

वसन्तपञ्चमीको महिमा

blog

आरुषी सापकोटा

कक्षाः ७, पाठशाला नेपाल फाउन्डेसन

काठमाडौँ 

वसन्त पञ्चमीलाई सरस्वती पूजा भनेर पनि चिनिन्छ । यो पर्व विशेष गरी हिन्दु धर्मावलम्बीले मनाउने गर्दछन् । विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ । यो पर्वबाट वसन्त ऋतुको आगमन हुन्छ । 

यो दिन मन्दिर र शैक्षिक संस्थामा माता सरस्वतीको पूजा गरिन्छ । विद्याकी देवी सरस्वतीको पूजा र आराधना हुने भएकाले बिहानैदेखि विद्यार्थी विद्या प्राप्तिका लागि नुहाइधुवाइ गरेर देवीसँग आशीर्वाद लिन्छन् । यो दिन धेरै शुभकार्य गर्ने चलन छ । जस्तैः ‘गृहप्रवेश’ र नयाँ व्यापार सुरु गर्न वा महत्वपूर्ण आयोजना सञ्चालन गर्न, बालबालिकाको नाक, कान छेड्न आदि । यो अति नै शुभदिनमा विद्यार्थीले माता सरस्वतीसँग विद्या, बुद्धि र विवेकका लागि प्रार्थना गर्छन् र विद्यालय नगएका साना बालबालिकाले कपीमा नयाँ शब्द लेखेर पढाइको औपचारिक सुरुवात गर्छन् । 

माता सरस्वतीले बोली, बुद्धि र सिकाइको शक्ति प्रदान गर्ने विश्वास रहेको छ । सरस्वतीका चार हात छन् । उनको एक हातमा साँचो ज्ञानको प्रतीक कमल छ । अर्को हातमा पवित्र शास्त्र छन् । आफ्ना अन्य दुई हातले सरस्वतीले वीणा भनिने तारमा जीवन र प्रेमको सङ्गीत बजाउँछिन् । ज्ञानी व्यक्तिले ज्ञान र बुद्धिको प्रतिनिधित्वका रूपमा सरस्वती देवीको पूजालाई ठुलो महत्व दिन्छन् । देवी सरस्वतीको आराधना गर्ने बेलामा मन्दिर फूलले सजाइन्छ । वसन्तको प्रारम्भको प्रतीकका रूपमा भक्तहरू देवीको ध्यान गर्छन् । 

सेतो वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सर्वाेत्तम रत्नद्वारा निर्मित आभूषणले सजिएकी, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी देवी सरस्वती हुन् र यिनी देवीको आराधना गर्नाले ज्ञान, बुद्धि, विवेकको वृद्धि हुन्छ भन्ने धार्मिक मान्यता छ । हामी विद्यार्थीको जीवनमा यस्ती सरस्वती माताको ठुलो महत्व छ । सबैले सरस्वती माताको महिमा र गुणगान गाउँदै विद्या र बुद्धि अनि विवेक प्राप्त गरौँ ।