• २१ वैशाख २०८१, शुक्रबार

पशु स्वास्थ्य शिविरबाट चार सय कृषक लाभान्वित

blog

इमान सीँ राना

रामपुर (पाल्पा), चैत ५ गते । पशु स्वास्थ्य शिविरबाट जिल्लाका चार सय पशुपन्छी पालक कृषक लाभान्वित भएका छन् । रामपुर नगरपालिका–६, बुल्टारमा भएको एक दिने निःशुल्क शिविरबाट रामपुर क्षेत्रका कृषकहरू लाभान्वित भएका हुन् । 

     पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजना र नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनीको सहकार्यमा आइतबार शिविर भएको शिविरमा गाई, भैँसी, बाख्रा र कुखुरा लगायतका पशुपन्छीको उपचार सँगै औषधी वितरण गरिएको थियो । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु चिकित्सक लोकराज भुसालले चार सय बढी कृषकहरूको एक हजार दुई सय पशुपन्छीका लागि निःशुल्क औषधीसँगै उपचार तथा परामर्श सेवा प्रदान गरिएको जानकारी दिनुभयो । 

    पशुपन्छीको प्रजनन समस्या, आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण, जीवाणु नियन्त्रण तथा खुराकजन्य समस्या लगायतका विभिन्न रोगहरूको १७ प्रकारका औषधिहरू वितरणसँगै कृषकहरूलाई परामर्श समेत प्रदान गरिएको थियो । शिविर शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले मुलुकको आर्थिक समृद्धिको आधार भए पनि कृषि क्षेत्रमा बजेट तथा कार्यक्रम न्यून रहेको बताउनुभयो । उत्पादकत्व वृद्धि र बजारीकरणमा सरकारको ध्यान जान नसकेको भन्दै पर्याप्त बजेट तथा कार्यक्रमको लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

     कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनीका सचिव डा.नम्रता सिंहले रामपुर क्षेत्र पशु पालनको लागि उर्वर भूमि भएको बताउँदै स्थानीय सरकारले प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेमा मन्त्रालयले पनि आवश्यक कार्यक्रम सञ्चालन गर्ने स्पष्ट पार्नुभयो । सेवालाई आम किसानसम्म पुर्‍याउन तथा कृषकलाई रोग तथा सचेत गराउनका लागि शिविर सञ्चालन गरिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निर्देशक डा. प्रवेश सिंह कुँवरले बताउनुभयो ।

   रामपुर नगरपालिका ६ का वडाध्यक्ष दिवाकर देवकोटाले कृषकको आवश्यकता र मागको आधारमा आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । बाख्रा पालक कृषक महासङ्घका केन्द्रीय उपाध्यक्ष सूर्यप्रसाद रेग्मीले कृषकका समस्या समाधानका लागि समय समयमा यस प्रकारका शिविर सञ्चालन हुनु आवश्यक रहेको बताउनुभयो । नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष डाक्टर युवराज श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । विजयपुर कृषि सहकारी संस्थाको कार्यालय परिसरमा भएको शिविरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पा र रामपुर नगरपालिका पशु शाखाको समेत प्राविधिक सहयोग रहेको थियो । शिविरको संयोजक सीता कुण्ड दुग्ध उत्पादक सहकारी र विजयपुर कृषि सहकारीले गरेको थियो । 

पशु चिकित्सकसँग परामर्श लिँदै कृषकहरू । तस्बिर ः इमानसिँ राना