• १३ साउन २०८१, आइतबार

सामुदायिक वन डढेलोको उच्च जोखिममा

blog

मीना कँडेल

कावासोती, चैत ५ गते । पूर्वी नवलपरासी जिल्लाका अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेपछि सुरक्षाका लागि विशेष अभियान सञ्चालन गरिएको छ । हरेक वर्ष फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्यधिक बढ्ने गरेको पाइएको छ । डढेलाका कारण वन सम्पदा, प्राकृतिक ऊर्जा र मानवीय धनजनको ठुलो क्षति हुँदै आएको छ । 

डिभिजन वन कार्यालय प्रमुख वसन्त केशव अधिकारीले नेपाल सरकारको तथ्याङ्क अनुसार नवलपुर जिल्लाको वन सम्पदा डढेलोको जोखिमको दृष्टिकोणले १६ औँ स्थानमा रहेको छ । इसिमोडको तथ्याङ्क अनुसार वन डढेलोको उच्च जोखिममा रहेका १३ जिल्लाभित्र पर्ने नवलपुरमा बर्सेनि डढेलोका घटना हुने गरेका छन् । 

डढेलो लाग्नुमा मानवीय कारणले ९६ प्रतिशत, प्राकृतिक कारण एक प्रतिशत र अन्यमा चार प्रतिशत रहेकाले मानवलाई सचेत गराएमा वनमा लाग्ने डढेलो नियन्त्रण गर्न सकिने भनाइ उहाँको छ । वनमा डढेलो लागेपछि जैविक विविधताको नास हुने, वन पैदावार र वनमा आश्रित जीवजन्तुको क्षति हुनका साथसाथै वातावरणीय अनुकूलमा पनि ह्रास आउने भएकाले वन डढेलो रोक्नुपर्नेमा उहाँको जोड छ । 

वनमा लाग्ने डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै क्षति न्यूनीकरण गर्नका लागि सप्ताहव्यापी रूपमा ‘वन डढेलो सचेतना सप्ताह’ कार्यक्रम सञ्चालन गरिएको प्रमुख अधिकारीले बताउनुभयो ।

जसअन्तर्गत फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका कार्य गरिएको छ । सो कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तर्क्रिया सुरु गरेको छ ।

सप्ताहव्यापी रूपमा सञ्चालन हुने यस कार्यक्रमलाई वनजङ्गल भएका गाउँबस्तीसम्म पु¥याउन स्थानीय तहसँग आग्रह गरिएको छ । डिभिजन वन कार्यालय अधिकृत शिशिर लम्सालले वनजङ्गल संरक्षण तथा सुरक्षाका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुहुन्छ ।