• १२ साउन २०८१, शनिबार

भेपको पासोमा किशोरकिशोरी

blog

केही दिन पहीले काठमाडौँकै एक विद्यालयको वार्षिकोत्सवमा पूर्वविद्यार्थीले भेप बेचेको समाचार सार्वजनिक भयो । सो स्कुलबाट पढाइ पूरा गरेका दाइदिदीहरूले बिक्री गरेको भेपलाई विद्यार्थीहरूले सामान्य रूपमा लिए । उनीहरूलाई यो विदेशबाट आयात गरिएको पानीको बाफ हो, खाँदा रमाइलो हुन्छ भनेर भेप बेचिएको थियो । पछि अभिभावकले चाल पाएपछि मात्र यो विषय सबैको सरोकारको विषय बन्न पुग्यो । विद्यालयले समेत अभिभावक र सञ्चार माध्यमबाट चासो र सरोकार राख्नुअघि भेप बिक्रीवितरणमा कुनै गम्भीरता देखाएको पाइएन । 

सामाजिक सञ्जालमा चुरोटको लत छुटाउने अचुक औषधी भेप अर्थात् इलेक्ट्रिक सिगरेट भनेर प्रचारप्रसार गरेको पाइन्छ । उनीहरूले भेपलाई कुनै पनि साइड इफेक्ट नभएको, वैज्ञानिक विधिबाट परीक्षण गरिएको आदि भनेर प्रचार गरेका छन् । त्यसो त विद्यालय तहका विद्यार्थी बिहान बेलुका स्कुल बस पर्खिने क्रममा भेप तान्न तल्लीन भएका दृश्यहरू काठमाडौँका गल्लीमा देखिन थालेका छन् । यी घटनाले हाम्रो समाज किशोरकिशोरीमाथि लगानी गर्न चाहन्छ तर उनीहरूका दैनिक क्रियाकलापलाई व्यवस्थित गर्न सामाजिक मूल्य र मान्यता सिकाउने काममा पछि परेको छ भन्ने कुरालाई पुष्टि गर्छ । आफ्नो बच्चाले भेप प्रयोग गरेको चाल पाउँदा पनि ऊ रिसाउला वा कुनै दुर्घटना निम्त्याउला भनेर गुपचुप राख्ने गरेका घटनासमेत छन् । 

हुक्का तान्ने फेसन मौलाउँदै जाँदा विद्यालय तहका विद्यार्थी स्कुल ड्रेसमै यस्ता होटलमा झुम्मिने गरेका थिए । हुक्का पिउनुभन्दा तुलनात्मक रूपमा सहज हुने भएकाले तथा सजिलो उपकरणमा सबैतिर प्राप्त हुने भएकाले भेप किशोरकिशोरीका बिचमा निकै लोकप्रिय बनेको छ । कुनै बेला सुन तस्करका लागि तस्करीको सजिलो माध्यम बनेको भेप अहिले विद्यार्थीहरूलाई नसाको पासोमा फसाउने डरलाग्दो उपकरण बनेर आएको छ । किशोरकिशोरीका भेटघाट र वनभोज जस्ता कार्यक्रममा भेप अनिवार्य वस्तु बन्न थालेको छ । चुरोट वा नसालु पदार्थ सेवन गर्नु नराम्रो हो भन्ने बुझे पनि सानो र चिटिक्क परेको उपकरणबाट सेवन गरिने भेप स्वास्थ्यका लागि झनै हानिकारक छ भन्ने कुरा नबुझ्दा सर्वसाधारणले यसलाई गम्भीरतापूर्वक लिएका छैनन् ।

किन घातक छ भेप ?

भेपमा निकोटिन जस्तो नसालु र घातक पदार्थ रहेको हुन्छ । सुर्तीजन्य पदार्थमा पाइने निकोटिन आफैँमा नसालु पदार्थ मात्र नभएर निर्भरता सिर्जना गर्ने एडिक्टिक तìव पनि हो । यसमा प्रोपिलेन ग्लिकोल र ग्लिसिन जस्ता पदार्थसमेत मिसाइएको हुन्छ । क्यान्सरको कारक मानिएको रसायन एसेटालडिनाइल र फर्मालडेहाइड जस्ता रसायनको मिश्रण भेपमा भएको हुन्छ । यति मात्र होइन, फोक्सोमा लाग्ने गम्भीर खालको रोगका कारक एक्रोलिन डाइएसेटिल र डाइथेलिन ग्लुको जस्ता घातक रसायन भेपमा राखिएको हुन्छ । 

चुरोटको लत छुटाउनका लागि समेत प्रयोग गर्न सकिने भनेर प्रचार गरिएको भेपमा शरीरका लागि अति घातक मानिएका चुरोटमा नपाइने पदार्थ पनि रहेका हुन्छन् । यसमा बढी घनत्व भएका धातु जस्तै निकेल, टिन, सिसा र क्याडमियम जस्ता धातुका कणसमेत राखिएको हुन्छ । यी सबै पदार्थ मानव स्वास्थ्यका लागि निकै घातक हुन्छन् । यीमध्ये केहीले फोक्सोको नली साँघुरो बनाउने काम गर्छन् भने केहीले रगतमा मिसिएर मस्तिष्कीय विकारसमेत सिर्जना गर्छन् । विभिन्न अङ्गलाई क्षति पु¥याउनुका साथै क्यान्सर जस्तो घातक रोग निम्त्याउने कारक तìवसमेत भेपमा रहेको हुन्छ । सेवनकर्तालाई आकर्षित गर्नका लागि विभिन्न फ्लेवर अथवा स्वादमा भेप उपलब्ध हुने गर्छ । निकोटिनको प्रचुरता हुने भएकाले भेपले छिटै नै लत बसाउँछ । अनि त चाहेर पनि व्यक्ति यसको पासोबाट फुत्किन सक्दैन । मानव स्वास्थ्यका लागि घातक भन्दै चुरोट बिँडीको बेचबिखनमा नियन्त्रण थालेको सरकारले भेपको प्रचारप्रसार, बिक्रीवितरण र सेवनमा कुनै नियन्त्रण र सावधानी अपनाएको देखिँदैन । 

बढ्दो प्रभाव

किशोरावस्था नयाँ नयाँ अनुभव लिने र साथीसँगीका बिचमा आफ्नो बेग्लै परिचय दिने समय हो । यतिखेर उनीहरू आफूलाई दिवा स्वप्नमा राजकुमार राजकुमारी बनाउने गर्छन् । आफूप्रति ध्यानाकर्षण गर्नका लागि साथीहरूका बिचमा उनीहरूले साहसिक कामसमेत गरेर देखाउँछन् । असल संस्कार र पथप्रदर्शनको अभाव भएको खण्डमा भने नैतिक मूल्य र मान्यतालाई भञ्जन गरेर पनि उनीहरूले आफूलाई बहादुर सिद्ध गर्न खोज्छन् । शारीरिक हर्मोनहरूको उथलपुथल, तीव्र वृद्धि र विकासका कारण मनोसामाजिक अवस्थामा विचलन आउने समय पनि भएकाले उनीहरू आफ्ना अनेकौँ जिज्ञासालाई परीक्षणद्वारा पुष्टि गर्न चाहन्छन् । 

नैतिक मूल्य र मान्यता सिकाउन नसकेको खण्डमा यतिखेर उनीहरूले बालबिज्याइँ पनि गर्न सक्छन् । यसैले किशोरावस्था अभिभावकको प्रत्यक्ष सम्पर्कमा रही निरन्तर परामर्श र संवाद गरिरहनुपर्ने उमेर हो । यद्यपि यतिखेर किशोरकिशोरी आमाबुबालाई भन्दा आफ्नै साथीहरूलाई बढी विश्वास गर्छन् । नराम्रो सङ्गत भयो भने किशोरकिशोरीले नसोचेका काम गर्न सक्छन् । यसका पछाडि उनीहरूमा साथीहरूको दबाब वा सङ्गतको प्रभाव कारक बनेर रहेको हुन्छ ।

चुरोटबिँडी स्वदेशमै निर्माण हुने भए पनि भेप विदेशबाटै आयात गरिएको वस्तु हो । सरकारले चाहने हो भने यसलाई नियन्त्रण गर्न पनि सक्छ तर यसमा चासो देखाएको छैन । अझ विडम्बना त के छ भने भेप प्रयोक्ताले मात्र होइन, बिव्रmेताले समेत यसका राम्रा पक्षका बारेमा बखान गर्ने गर्छन्, जुन आफैँमा अवैज्ञानिक, अतार्किक र अवास्तविक हुन् । धेरै व्यक्तिले त उनीहरूका कुरामा विश्वास गरेर चुरोट जस्तै सेवन गर्न सकिने तर स्वास्थ्यलाई घात नगर्ने भनी भेप सेवन गरेका पनि देखिन्छन् । 

अध्ययनले के देखाएको छ भने भेप सेवनबाट चुरोटको तलतली मेटाउन सकिन्छ र चुरोट सेवन गर्ने आदत नियन्त्रण गर्न पनि सकिन्छ तर यसले चुरोट सेवन नगर्ने अवस्थामा पु¥याउने होइन चुरोटबाट प्राप्त हुने निकोटिन भेपका माध्यमबाट प्राप्त गर्ने बानीमा स्थानान्तरण मात्र गर्छ । अर्थात् चुरोट नखाई बस्न नसक्नेलाई चुरोटबिना बस्न सक्ने बनाउँछ तर उनीहरू भेपबिना बस्न सक्दैनन् । यसरी भेप चुरोटको तलतली मेट्ने वा लत मेटाउने औषधी हुँदै होइन बरु चुरोटबाट झनै गम्भीर र घातक पदार्थको सेवनमा लत बसाल्ने माध्यम हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा सङ्घीय, प्रदेश र स्थानीय सरकारले किशोरकिशोरीबिच फैलिँदै गएको भेप विकृतिलाई नियन्त्रण गर्न जनचेतना विस्तारका साथसाथै विविध कार्यक्रम तुरुन्तै लैजानुपर्ने देखिन्छ । सञ्चार माध्यमले समेत यस विषयलाई महìव दिई आगामी पुस्तालाई भेपको पासोबाट मुक्त गर्न पहल कदमी लिनै पर्छ । समयमा नियन्त्रण गर्न नसकिए नसालु र विषाक्त पदार्थको सेवनबाट धेरै जना गम्भीर र दुसाध्य रोगको सिकार हुने छन् । जसले मानव विकास सूचकाङ्कमा राष्ट्रको अवस्थालाई झनै दयनीय देखाउने छ ।

  

Author

प्रेमनारायण भुसाल