• १३ मंसिर २०८१, बिहिबार

स्वर्गद्वारी गुठीपीडित काठमाडौँमा, समस्या समाधान गरिने

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत ५ गते ।  झन्डै एक महिनादेखि दाङमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित किसान सङ्घर्ष समितिका अगुवाहरू काठमाडौँ आएका छन् । तत्काल गुठी विधेयक ल्याउन माग गर्दै सबै पार्टीका शीर्ष नेतालाई भेटेर दबाब दिन उनीहरू राजधानी आएका हुन् ।

आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका नेता दीपक गिरीलगायतसँग भेटेर आफ्ना कुरा राखेका छन् । गुठीपीडित किसान सङ्घर्ष समितिको छलफलमा मन्त्री शर्माले किसानका मागमा सरकार गम्भीर रहेको बताउँदै जतिसक्दो चाँडो कानुन बनाएर समस्या समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो । 

“किसानले जोतभोग गरेको जग्गाको स्वामित्व पाउनु पर्छ । त्यसका लागि स्वर्गद्वारी गुठी पनि तयार नै छ,” उहाँले भन्नुभयो, “तर यसमा २०६२ मा गरिएको सर्वोच्च अदालतको आदेशले समस्या सिर्जना ग¥यो । अब नयाँ संविधानले प्रदत्त गरेको नागरिकको आवासको हकमा टेकेर नयाँ कानुन बनाई समस्या समाधान गर्नु पर्छ ।” 

उहाँले पछिल्लो चरणमा सत्ता समीकरण फेरबदल भएकाले विधेयक ल्याउन ढिला भएको बताउनुभयो । उहाँले सहकारीमन्त्रीलाई भेटेरसमेत छलफल गरेर गुठी विधेयक टुङ्गो लगाउने बताउनुभयो । 

गुठीपीडित सङ्घर्ष समितिका अगुवा प्रवीण दहित थारूले आफूहरूका माग सरकारलाई थप संवेदनशील बनाउन काठमाडौँ आएको बताउनुभयो । अर्का अगुवा लालबहादुर चौधरीले अघिल्लो पटक आफूले प्रधानमन्त्रीसँग भेट गरी तत्काल गुठी विधेयक ल्याउन माग गरेको बताउनुभयो । उहाँले समस्या समाधान नहुँदासम्म आन्दोलन नरोकिने प्रस्ट पार्नुभयो । 

स्वर्गद्वारी गुठीको जग्गा सदियौँदेखि जोत भोग गर्दै आए पनि स्वामित्व पाउन नसकेको भन्दै उनीहरूले फागुन ८ गतेदेखि दाङमा आन्दोलन गर्दै आएका छन् । किसानको आन्दोलनपछि सरकारले गुठीपीडित सङ्घर्ष समितिसँग वार्ता गर्न फागुन १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो ।