• १५ वैशाख २०८१, शनिबार

लाइसेन्स परीक्षामा उल्लेख्य नतिजा

blog

काठमाडौँ, चैत ५ गते । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता (लाइसेन्स) परीक्षामा अप्रत्याशित रूपमा विद्यार्थी पास भएका छन् । 

नर्सिङ काउन्सिलले लिएको परीक्षामा यस पटक प्रवीणता प्रमाणपत्र तह (पिसिएल) तर्फ ७१.२७ प्रतिशत नर्स पास भएका हुन् । यसअघि काउन्सिलले लिएको परीक्षामा जम्मा १९ प्रतिशत नर्स मात्र नाम दर्ता परीक्षामा पास भएका थिए । काउन्सिलकी अध्यक्ष सरला केसीले यो पटक अप्रत्याशित रूपमा विद्यार्थी पास भएको जानकारी दिनुभयो । “यसअघि लिएको परीक्षामा १९ प्रतिशत मात्र पास भएका थिए,” उहाँले भन्नुभयो, “यस पटक ७१ प्रतिशतभन्दा बढी नर्स पास हुनु अप्रत्याशित हो ।”

अध्यक्ष केसीले अप्रत्याशित रूपमा नर्सिङ शिक्षामा गुणस्तर कायम भएको हो भन्ने जिज्ञासामा उहाँले भर्खरै पास भएर आएका नर्स सहभागी भएकाले पनि अप्रत्याशित नतिजा आएको हुन सक्ने बताउनुभयो । उहाँका अनुसार प्रवीणता प्रमाणपत्र तह अन्तर्गतको परीक्षामा सहागी चार हजार ५६७ जनामध्ये तीन हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन् ।

यसै गरी बिएस्सी नर्सिङतर्फको नाम दर्ता परीक्षामा ४४५ जना नर्स सहभागी भएकोमा २६८ जना (६०.२२) प्रतिशत नर्स उत्तीर्ण भएका छन् । प्रमाणपत्र तह र बिएस्सीतर्फको कुल उत्तीर्ण प्रतिशतमा भने ७०.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

केसीले स्नातक (बिएस्सी) तर्फ सहभागी परीक्षार्थीमध्ये अधिकांश भारतबाट अध्ययन गरेर आएका नर्सहरू छन् । केसीका अनुसार ७० प्रतिशत नर्स भारतबाट अध्ययन सकेर आएका हुन् ।