• १२ साउन २०८१, शनिबार

धार्मिक शिविर छाडेर काली कम्बलवाला बाबा फरार

blog

काली कम्बलवाला बाबा

दिपकप्रसाद गौतम 

वीरगञ्ज, चैत ४ गते । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित चिनी मिलको जग्गामा काली कम्बलवाला बाबाले फागुन ३० गतेदेखि ११ दिनका लगाएको निःशुल्क धार्मिक शिविर छाडेर बाबा फरार हुनु भएको छ । 

विभिन्न रोगको निःशुल्क उपचार गरी बिरामीलाई निको बनाउने भन्दै वीरगञ्जमा निःशुल्क धार्मिक शिविर चलाएर सहयोग रकमको नाममा ठगी गरेको खबरपश्चात प्रहरीले पक्राउ गर्ने तयारी गरेको जानकारी पाएपछि काली कम्बलवाला बाबा धार्मिक शिविर छाडेर फरार भएको प्रहरीले दाबी गरेको हो । 

प्रहरीका अनुसार आफ्नो कालो कम्बलको सहायताले पक्षघात भएका, हातगोडा नचल्ने, ढाड कम्मर दुख्नेलगायतका रोग निको पारिदिने भन्दै वीरगञ्जमा निःशुल्क धार्मिक शिविर चलाउँदै आउनु भएका भारत गुजरातका काली कम्बलवाला बाबा आइतबार अचानक शिविर छाडेर गायब हुनु भएको हो । 

पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले विभिन्न रोगको निःशुल्क उपचार गर्ने भनी सर्वसाधारणलाई ठगी गर्दै आएका बाबाको पोल खुलेपछि बाबा आफैं फरार भएको दाबी गर्नुभयो । 

प्रहरीका अनुसार शिविरमा बाबाबाट उपचार गराउनका लागि मधेसका जिल्लाका साथै छिमेकी मुलुक भारतबाटसमेत दिनहुँ हजारौंको संख्यामा बिरामीहरूको घुइँचो लाग्ने गरेको थियो । तर आइतबार दिउँसो १२ बजेतिर ती बाबा अचानक शिविर छाडेर गायब भएपछि शिविरमा उपचारका लागि आएकाहरूले प्रदर्शन गरेको र त्यसक्रममा प्रहरीले बल प्रयोग गर्दा स्थिति केहीबेर तनावग्रस्त बनेको थियो ।

प्रदर्शनमा उत्रिएकाहरूले प्रहरी प्रशासनले काली कम्बलवाला बाबालाई पक्राउ गरेर लगेको भन्दै सडकमै बसेर धर्ना दिएका थिए । धर्नामा कारण अवरुद्ध सडक खुलाउन प्रहरीले प्रयास गर्दा झडपसमेत भएको थियो । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते पनि भएका छन् ।

उपचार गराउन आएकाहरुले प्रहरीले बाबालाई पक्राऊ गरी लगेको जनाउँदै प्रदर्शन गरी सडकजाम गर्दा प्रहरीले सडक खुलाउन बल प्रयोग गरेको थियो । वीरगञ्जका बिभिन्न अस्पतालमा उपचाररत बिरामीहरुलाई समेत डिस्चार्ज गर्दै उक्त शिविरमा बिरामीहरु ल्याउन थालेपछि अस्पतालकर्मीको ईसारामा प्रहरीले बाबालाई नियन्त्रणमा लिएको आरोप समेत लगाइएको छ ।

बाबा गुजरातबाट पनि यसरी नै चलिरहेको शिविरबाट एकाएक फरार भएको बताइन्छ । भारतीय मिडियाले त बाबाले दानपेटिकामा जम्मा भएको करोडौं रुपियाँ लिएर फरार भएको जनाउँदै समाचार प्रकाशन प्रसारण गरेको छ ।