• १३ साउन २०८१, आइतबार

माओवादीसँग एकताको पक्षमा उभिएका नेसपा नेता जिम्मेवारी मुक्त

blog

नेसपाका प्रवक्ता कृष्ण शर्मा ।

काठमाडौं, चैत ४ गते । नेपाल समाजवादी पार्टीले नेकपा(माओवादी केन्द्र)सँग एकताको पक्षमा उभिएका नेतालाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने भएको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका पार्टीका अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने विषयमा छलफल भएको हो । 

नेसपाका प्रवक्ता कृष्ण शर्माले नेताले पार्टीको विधि, पद्धति र संगठनात्मक पद्धतीलाई छलेर माओवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको भन्दै जिम्मेवारीबाट मुक्त गर्न लागिएको बताउनुभयो । उहाँले भोलि(सोमबार) बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले आवश्यक निर्णय गर्ने बताउनुभयो । 

माओवादीसँग एकताको पक्षमा उभिएका नेसपा नेता जिम्मेवारी मुक्त  केन्द्रीय कार्यकारिणी समिति बैठकले भने ती नेताहरुलाई जिम्मेवारीमुक्त गर्ने एजेण्डा भोलि बस्ने केन्द्रीय समितिको बैठकमा लैजानेगरी पारित गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै अग्रगामी राजनीतिक शक्तिसँग एकता र ध्रुवीकरणको प्रक्रिया भने जारी रहने उहाँले बताउनुभयो । बैठकले पार्टीको महाधिवेशन गर्ने र संगठनलाई सुदृढ गर्ने विषयमा पनि छलफल गरेको उहाँले बताउनुभयो ।

उहाँले आगामी महाधिवेशन गर्दा प्रत्यक्ष निर्वाचन प्रणालीबाट गरिने पनि बताउनुभयो । उहाँले पार्टी संगठनलाई सुदृढ गर्ने सन्दर्भमा केन्द्रीय समिति बैठकले कार्ययोजना तय गर्ने जानकारी दिनुभयो ।