• १३ साउन २०८१, आइतबार

प्रदेश प्रमुख भट्टद्वारा पदभार ग्रहण

blog

पदभार ग्रहणपछि प्रदेश प्रमुख डिल्लीराज भट्ट ।

फडिन्द्र अधिकारी

लेखनाथ, चैत ४ गते । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको निवासमा आइतबार मुख्यमन्त्री कार्यालयले गरेको स्वागतलगत्तै कार्यालय पुगेर भट्टले पदभार ग्रहण गर्नुभएको हो ।

हिजोसम्म आफू राजनीतिक दलमा भए पनि आजबाट प्रदेशको गौरब बढाउनेगरी साझा व्यक्तित्व बनी काम गर्ने उहाँले बताउनुभयो । “मलाई नेपाल सरकारले गण्डकी प्रदेशको प्रमुख बनाएको छ । अब जति रहन्छु, प्रदेशको गौरब बढाउने काम गर्छु” उहाँले भन्नुभयो ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले भट्टलाई फागुन ३० गते सपथ गराउनुभएको हो ।

गण्डकी प्रदेश प्रमुख बन्नुभएका भट्ट डोटीका स्थायी बासिन्दा हुनुहुन्छ । नेकपा (एमाले) को सल्लाहकार परिषद सदस्य उहाँ राष्ट्रिय सभाको अघिल्लो निर्वाचनमा उम्मेदवार हुनुहुन्थ्यो । गण्डकी प्रदेश स्थापना भएयता अहिलेसम्म बाबुराम कुँवर, सीता पौडेल, अमिक शेरचन र पृथ्वीमान गुरुङ प्रदेश प्रमुखको जिम्मेवारीमा आइसक्नुभएको छ ।