• १३ साउन २०८१, आइतबार

‘नेपाल धार्मिक, सांस्कृतिक दृष्टिले सम्पन्न मुलुक’

blog

कार्यक्रममा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ ।

काठमाडौँ, चैत ४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल धार्मिक, सांस्कृतिक दृष्टिले सम्पन्न मुलुक भएको बताउनुभएको छ । 

नेपाल तामाङ घेदुङद्वारा आइतबार राजधानीमा आयोजित उहाँको सम्मान तथा शुभकामना समारोहलाई सम्बोधन गर्दैसो कुरा बताउनुभएको हो ।  

उहाँले  सांस्कृतिक, धार्मिक पर्यटनमा टेवा पुर्याउने नेपालका ऐतिहासिक सम्पदा २०७२ को भूकम्पले ध्वस्त भएको हुँदा ती सम्पदाको पुनर्निर्माणमा ध्यान दिने बताउनुभयो ।

मन्त्री तामाङले आफूले जिम्मेवारी सम्हालेको मन्त्रालयले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रसहित बृहत् क्षेत्रको प्रवर्द्धन, उत्थानमा काम गर्नुपर्ने तर बजेट एकदमै न्यून भएको बताउनुभयो ।

मन्त्री तामाङले धर्म, संस्कृतिको प्रवर्द्धनसँगै, पर्यटन प्रवर्द्धनका लागि दलगत विचार भन्दा माथि उठेर एकजुट हुन आग्रह गर्नुभयो । सो अवसरमा पूर्व राजदूत गणेश योञ्जनले नेपालीको धार्मिक, सांस्कृतिक, भाषिक विविधतालाई सम्बोधन हुने योजना, कार्यक्रमलाई प्राथमिकतामा राखेर धार्मिक/सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि स्थानीय तह र समुदायसँग सहकार्य गर्न सुझाव दिनुभयो ।

पूर्व पर्यटन राज्यमन्त्री परशुराम वाइवाले विविधतापूर्ण नेपाली संस्कृति आफैंमा धनी रहेको बताउँदै संस्कृति मन्त्रालयले तिनै धार्मिक, सांस्कृतिक सम्पदाको प्रवद्र्धनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । 

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले मन्त्री तामाङ घेदुङको सल्लाहकार समेत रहनुभएकोले घेदुङको सांस्कृतिक साझा घर बनाउने पहलका लागि सरकारको नीतिभित्र रहेर सहयोग गर्नुहुने अपेक्षा व्यक्त गर्नुभयो ।