• ११ मंसिर २०८१, मङ्गलबार

कुस्ती सङ्घमा कुसारी

blog

निर्वाचित भएपछि प्रकाशकुमार कुसारी ।

काठमाडौँ, चैत ४ गते । प्रकाशकुमार कुसारीको अध्यक्षतामा नेपाल कुस्ती सङ्घको नयाँ नेतृत्व चयन भएको छ । 

आइतबार सम्पन्न सङ्घको साधारणसभा तथा निर्वाचनले कुसारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कुसारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यसमेत हुनुहुन्छ ।

सङ्घको कूल २७ सदस्यीय कार्यसमिति रहनेछ भने बाँकी १२ पदमा पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष कुसारीले जानकारी दिनुभयो । सङ्घको उपाध्यक्षमा निर्मल सिग्देल, मुकेश साह र सूर्यन्सकुमार चौधरी तथा महासचिवमा खगेन्द्रबहादुर बस्नेत निर्वाचित हुनुभएको छ ।

सङ्घको विधानअनुसार वरिष्ठसहित कम्तीमा एक महिला गरी पाँच उपाध्यक्ष रहने व्यवस्था छ । सङ्घको कार्यसमिति बैठकले महिला उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष मनोनित गर्ने भएको छ । उपमहासचिवमा चितवनका साजन अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।

कार्यसमितिले थप एक जना उपमहासचिव मनोनित गर्न पाउने व्यवस्था छ । सचिवमा सरोज कटुवाल र सूर्यनारायण साह तथा कोषध्यक्षमा विपुल पौडेल निर्वाचित हुनुभएको छ । यो कार्यसमितिमा थप तीन जना सचिव नियुक्त हुनेछन् ।

साधारण सभा र निर्वाचनले संघको सदस्यहरूमा ऐटन मल्ल, सुदीप केसी, अनित न्यौपाने, उपेन्द्र श्रेष्ठ, विक्रमसागर पोख्रेल र लक्ष्मी उराउलाई सर्वसम्मत निर्वाचित गरेको छ । नयाँ कार्यसमितिको बैठकले थप ६ जना सदस्य मनोनित गर्न पाउने व्यवस्था रहेको छ ।

यसअघि उक्त साधारणसभाको राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थितिमा उद्घाटन भएको थियो ।