• १३ साउन २०८१, आइतबार

एक दलको बहुमत नहुँदा देश समस्यामा: नेता पोखरेल

blog

कार्यक्रमलाई सम्वोधन गर्दै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री 

सर्लाही, चैत ४ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै एक दलको बहुमत नहुँदा देशको विकास नभइ समस्यामा परेको बताउनुभएको छ ।  बरहथवामा आइतबार एमाले सर्लाहीको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले कुनै पनि राजनीतिक दलसँग एकल बहुमत नहुँदा राजनीतिक स्थिरता कायम नभएको चर्चा गर्नुभयो । “कुनै दलसँग बहुमत नभएकाले अहिलेको स्थिति आएको हो” उहाँले भन्नुभयो, “राजनीतिक स्थिरता कायम नभएसम्म यही अवस्था रहिरहन्छ ।” उहाँले ६–६ महिनामा सरकार फेरिने समस्या दुःखद् रहेको बताउनुभयो । पोखरेलले २०८४ को निर्वाचनमा एमालेलाई एकल बहुमत दिलाउन सहयोग गर्न आग्रह गर्नुभयो ।  

आगामी निर्वाचनमा एमालेको लक्ष्य एकल बहुमत ल्याउने रहेकाले पार्टीका कार्यकर्तालाई जनतामाझ समस्या सुन्ने र समाधान गर्ने काममा केन्द्रित हुन वरिष्ठ उपाध्यक्ष पोखरेलले निर्देशन दिनुभयो । उहाँले एमाले मजबुद भएपछि देशले निकास पाउने दावी गर्नुभयो । 

एमाले सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा मधेश प्रदेशमा एमालेको उपस्थिति अझ बलियो हुने दावी गर्नुभयो । कार्यक्रममा एमाले नेतृ तथा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, रक्षामन्त्री हरिप्रसाद उप्रेती, मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रीय सदस्य कल्पनाकुमारी कटुवाल, जिल्ला अध्यक्ष राजनारायण साहलगायतले सम्वोधन गर्नुभयो । 

कार्यक्रममा एमाले सर्लाहीको राजनीतिक, साङ्गनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । एमाले सर्लाहीले आसन्न नवौँ जिल्ला अधिवेशनको तयारीस्वरुप आइतबार जिल्लाभरका अगुवा नेता, कार्यकर्ताको उपस्थितिमा प्रथम प्रतिनिधि परिषद् बैठक सम्पन्न गरेको छ ।