• १३ साउन २०८१, आइतबार

जलेकी किशोरीको उपचारको क्रममा मृत्यु

blog

आगलागी बाट मृत्यु भएकी किशोरी हेमन्ती चौलागाई । तस्वीर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट चैत ४ गते । सामुदायिक वनमा आगलागी हुँदा जलेर घाईते भएकी किशोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी प्रहरी इन्सिपेक्टर पोषण थापाले सामुदायिक वनमा आगलागी हुदा जलेर घाईते भएककी किशोरीको मृत्यु भएको जानकारी दिनुभयो ।  

थापाका अनुसार शुक्रवार दिउसो कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा वनमा बाख्रा चराउन गएका बेला वनमा आगलागी हुँदा बाबु छोरी घाईते हुनुभएको थियो । 

उहाँले भन्नुभयो, “आगोले जलेकी अन्दाजी बर्ष ११ की हेमन्ती चौलागाईको उपचारका क्रममा प्रदेस अस्पताल सुर्खेतमा मृत्यु भएको हो । हेमन्तीका बुवा बर्ष ५० का नन्दलाल चौलागाईको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ ।”

थापाका अनुसार आगलागीका कारण चौलागाईका ६० मध्ये ४५ बाख्रा जलेर मरेका छन । ६ वटा बाख्रा आधा जलेको अवस्थामा वनबाट उद्धार गरिएको छ भने वाँकी नौ बाख्रा अझै पनि हराईरहेका छन् । 

स्थानीय डिल्ली चौलागाईले घाईते  बाख्रा बच्ने सम्भावना निकै कम भएको बताउनुभयो ।  

 उपचारमा आर्थिक अभाव

आगोमा जलेका नन्दलाल चौलागाईको उपचार खर्च अभाव भएको छ । सामान्य परिवारका चौलागाईको आर्थिक अबस्था कम्जोर भएकाले उपचारका लागि परिवारका सदस्यले सहयोगको अपिल गरेका छन । 

अग्नीपिडित चौलागाईका आफन्त हिरामणी चौलागाईले घरको अबस्था निकै दयनीय भएकोले उपचारमा खर्च अभाव भएको बताउनुभयो ।

उहाँले उपचार खर्चको जोहो गर्न बजारमा सहयोग  मागिरहेको बताउनुभयो । चौलागाईले आफु लगाएत केही गाउँका युवाले बजारका ब्यापारीबाट सहयोग माग्दै पठाउने गरेको बताउनुभयो ।  आर्थिक अभावकै कारणले ११ बर्षिय किशोरीको मृत्यु भएको उहाँले सुनाउनुभयो ।

प्राय वनमा स्थानीयले आफै जानीजानी आगो लगाउने गरेका छन । बाक्लो घास पलाउने लोभले आगाले लगाउने चलनका कारणले वन बिनास हँुदै आएको छ । घाँसको मायाले वनमा आगो लगाउने गरेकाले वनमा उम्रिएका स साना बिरुवा जलेर नष्ट हुने गरेका छन । जिल्लाको खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, शुभकालीका गाउँपालिका, तिलागुफा नगरपालिका भित्रका वन क्षेत्र आगोले कालै भएका छन । 

सुख्खा क्षेत्रका रुपमा परिचित पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकामा बिरुवाको नाम निसानै छैन । स साना उम्र्रेका बिरुवा समेत आगलागीका कारणले उस्तै हराउने गरेका छन । डिभिजन वन कार्यालयले पनि खासै आगो नियन्त्रणको प्रयास गरेको देखिदैन । स्थानीयको सामान्य लोभले वन बिनास भईरहेका छन भने आगोका कारणले ज्यान समेत जाने गरेका छन ।