• १६ वैशाख २०८१, आइतबार

नेपालगन्जमा मेरुदण्ड रोगको कार्यशाला

blog

सम्मेलनमा सहभागी सर्जन। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत ४ गते । मेरुदण्डको समस्या र उपचारका क्षेत्रमा आएका नवीन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी आदान प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा पहिलो पटक सर्जनको सम्मेलन आयोजना गरिएको छ । 

देशभरका स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, एनेस्थियोलोजिष्ट, रेडियोलोजिष्ट र न्युरो सर्जनको सहभागितामा नेपालगन्जमा पहिलो पटक मेरुदण्ड रोग सम्बन्धी सम्मेलन गरिएको एसोसियसन अफ स्पाइन सर्जन अफ नेपालले जनाएको छ । 

एसोसियसन अफ स्पाइन सर्जन अफ नेपालका लुम्बिनी प्रदेश संयोजक हाडजोर्नी विशेषज्ञ डा. प्रकाशबहादुर थापाका अनुसार सम्मेलनमा मेरुदण्डको चोट, चोटपटकको उपचार लगायत स्पाइनका विभिन्न समस्यामा केन्द्रित रहेर छलफल तथा प्यानल विचारविमर्श गरिएको थियो । 

डा. थापाका अनुसार स्पाइनका शल्यक्रियामा आउने जटिलतालाई भविष्यमा कसरी सामना गर्ने भन्ने विषयमा समेत सम्मेलनमा व्यापक छलफल गरिएको थियो ।

सम्मेलनमा देशका दर्जन बढी वरिष्ठ चिकित्सकले आफूले गरेका विभिन्न केसको प्रस्तुतिकरण साथै विभिन्न विषयमा प्यानल डिस्कसन समेत गर्नुभएको थियो । मेरुदण्ड रोग सम्बन्धी आयोजित सम्मेलनबाट पश्चिम नेपालका स्पाइनका बिरामीलाई लाभ मिल्ने आयोजकले विश्वास लिएको छ ।

उक्त सम्मेलनमा एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा.विमलकुमार पाण्डे, महासचिव डा.सुरज बज्राचार्य, साइन्टिफिक कमिटीका डा.गौरवराज ढकाललगायत उपस्थित हुनुहुन्थ्यो । नेपाल अर्थोपेडिक एसोसियसन वेष्टर्न च्याप्टरले सहकार्य गरेको कार्यशालामा देशभरबाट ६० बढी सर्जन चिकित्सकको सहभागिता रहेको थियो । 

सम्मेलनबाट मेरुदण्डको समस्या र उपचारका क्षेत्रमा आएका नवीन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे राम्रो जानकारी प्राप्त भएको सहभागी चिकित्सकको भनाइ छ ।