• १२ साउन २०८१, शनिबार

डिभिजन वन अधिकृतसहित २४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिनाको मुद्दा

blog

अख्तियार दुरुपयोग अनुसन्धान आयोग । फाइल तस्बिर

काठमाडौं, फागुन ४ गते। महोत्तरीको जलेश्वरस्थित डिभिजन वन कार्यालयका तत्कालीन डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपियाँ सार्वजनिक सम्पत्ति हिनामिना गरेको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार व्यक्तिलाई लाभ हुने गरी विभिन्न जातका चार सय छ वटा रुख कटान गरी÷गराइ ११ लाख ९६ हजार ६९५ रुपियाँ बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी भएको पुष्टि भएको छ।

साहसहित तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, सब–डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोषकुमार साह, वनरक्षक राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुङ्गेल र दिलीप महतोविरुद्ध गलत विवरण व्यहोराको सर्जमिन मुचुल्का तयार गरेको आरोप लागेको छ।

यस्तै, नापी कार्यालय, बर्दिबासका तत्कालीन अमिन रामदरश राउत, मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नम्बर १ का तत्कालीन वडा सदस्य शान्तादेवी श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

बर्दिबास नगरपालिका १ का तत्कालीन वडाअध्यक्ष चूडामणि पोखरेल, रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउत, तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, तत्कालीन सदस्य उर्मिला थापामगर र पूर्णबहादुर सुस्लिङविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम पूरै सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ।

यसैगरी, जग्गाधनीद्वय लीलामणि आचार्य र कृष्णप्रसाद गौतम, वनका उपभोक्ता एमबहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री, सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ४ का रुख कटान गर्ने ठेकेदार सन्दीप नेपालीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी लिइ आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।