• १२ साउन २०८१, शनिबार

हावाहुरीले सूर्यमुखी खेतीमा क्षति

blog

हावाले क्षति गरेको मकवानपुरगढीमा लगाइएको सूर्यमुखी खेती। तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, चैत ४ गते। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा लगाइएको सूर्यमुखी खेतीमा हावाले क्षति पुर्‍याएको छ। मकवानपुरगढी ३ नम्बर वडाको धमिले फाँटमा परीक्षणका लागि लगाइएको सूर्यमुखी हावाले सोत्तर बनाएको हो। ढकमक्क फुलेर मनमोहक बनेको सूर्यमुखी सामान्य हावाले सोत्तर बनाएपछि किसान चिन्तामा छन्। 

बाबियोडाँडा निवासी कृषक गोकर्ण पराजुलीले चार कठ्ठा क्षेत्रफलमा लगाउनुभएको सूर्यमुखी खेती हावाले क्षति गरेपछि उहाँ चिन्तामा पर्नुभएको हो। बिरुवाको तुलनामा फुल ठुलो भएकाले सामान्य हावाले पनि आधा फूल ढालेपछि उहाँ चिन्तामा पर्नुभएको हो। 


सामान्य हावाले आधा खेतीमा असर गर्यो, ढकमक्क फुलेको सूर्यमुखी सोत्तर भयो, उहाँले खल्लो मान्दै भन्नुभयो। “सूर्यमुखी फूल फुलेपछि यहाँ हेर्न आउने, भिडियो बनाउन र फोटो खिच्न आउनेको लर्को लागेको थियो, फूल हेर्दा आफैंलाई पनि आनन्द हुन्थ्यो, सोत्तर हुँदा मेहनत खेर भएको भान भयो,” कृषक पराजुलीले भन्नुभयो। 

उहाँले प्रति कठ्ठा एक सय केजीको दरले सूर्यमुखी उत्पादन हुने गर्नेगरी खेती गरे पनि हावाले सोत्तर हुँदा सपना अधुरै भएको सुनाउनुभयो। धमिले फाँट गढीका मनोज देवकोटा, बद्री देवकोटा लगायतकाले पनि सूर्यमुखी खेती गर्न आफ्नो जग्गा भाडामा दिनुभएको छ।