• ११ मंसिर २०८१, मङ्गलबार

साविक विजेता पुलिस र एपिएफको विजयी सुरुवात

blog

आइतबारको खेलमा प्रतिस्पर्धा गर्दै एपिएफ र मधेश प्रदेशका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौँ, चैत ४ गते । साविक विजेता नेपाल पुलिस क्लब र एपिएफ क्लबले आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विजयी सुरुवात गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आइतबारको भएको खेलमा विभागीय टोली पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले कर्णालीमाथि २५–१२, २५–७, २५–८ को सहज जित निकाल्यो । अर्को खेलमा एपिएफ क्लबले मधेश प्रदेशलाई ३–० को सेटमा निरास बनायो । एपिएफले मधेशलाई २५–८, २५–७, २५–२ ले हराएको हो ।

यस्तै आइतबार नै भएको पुरुषतर्फको खेलमा सुदूरपश्चिम प्रदेशले जावलाखेल भलिबल क्लबलाई ३–० को सेटमा हराएको छ । भारतका तीन खेलाडी टोलीमा समावेश गरेको सुदूरपश्चिमले जावलाखेलमाथि २५–२१, २५–१३, २५–१७ को नतिजा निकालेको थियो । 

नेपाल भलिबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा सात टोलीको सहभागिता छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछ ।