• १३ साउन २०८१, आइतबार

बागमतीमा हाम्रो नेपाली पार्टीले सरकार गठन गर्न पहल गर्ने

blog

हाम्रो नेपाली पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य।

राममणि दाहाल

हेटौँडा, चैत ४ गते। बागमती प्रदेशमा सरकार गठनका लागि निर्णायक रहेको हाम्रो नेपाली पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ। हाम्रो नेपाली पार्टीले प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलाग्ने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता इन्जिनियर डिल्लिश्वोर कार्की (रोहन) ले चैत्र ३ र ४ गते बसेको केन्द्रीय कमिटीको बैठकले बागमती प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको जानकारी दिनुभयो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलको केन्द्रमा बनेको गठबन्धन टुटेसँगै बागमती प्रदेशमा नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र)का नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ।

११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशका बहुमतको सरकार बनाउन ५६ प्रदेश सभा सदस्य आवश्यक हुन्छ। तर केन्द्रमा बनेको सत्ता समीकरण अनुसार यस प्रदेशमा बहुमत पु र्‍याउन एक जना प्रदेश सभा सदस्य अपुग हुन्छ। हाम्रो नेपाली पार्टीको बागमती प्रदेश सभामा दुई जना प्रदेश सभा सदस्य  छन्।

 एमाले, माओवादी केन्द्रसहितको गठबन्धनलाई बहुमतका लागि राप्रपा, हाम्रो नेपाली पार्टी वा नेपाल मजदुर किसान पार्टीको समर्थन अनिवार्य हुन्छ।

हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले विगतमा बनेका गठबन्धनले आफ्नो पार्टीलाई राम्रो व्यवहार नगरेको बताउँदै अब आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताउनुभएको हो। उता पार्टी प्रवक्ता कार्कीले ऐतिहासिक जिम्मेवारी पूरा गर्न हाम्रो नेपाली पार्टी तयार रहेको बताउँदै अहिले अन्य दललाई समर्थन नगर्ने पक्षमा पुगेको बताउनुभयो।