• १६ वैशाख २०८१, आइतबार

सरकार ढाल्ने चलखेलमा छ काँग्रेस : प्रमुख सचेतक बर्तौला

blog

नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौला । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ४ गते । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । आइतवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले काँग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अङ्कगणितका आधारमा प्रस्तुत भइरहेको आरोप लगाउनुभयो । उहाँले काँग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिन नहुने बताउनुभयो । सुन तस्करीको प्रकरण सन्दर्भमा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनको कार्यान्वयन हुनुपर्ने उहाँले बताउनुभयो । आयोगको प्रतिवेदन सांसदलाई बुझाउन पनि सरकारसँग उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सुन तस्करी प्रकरणको सन्दर्भमा सरकारले आयोग बनाएको थियो, त्यो आयोगले सरकारलाई रिपोर्ट पेस गरेको छ । त्यो रिपोर्ट बमोजिम जसको जहाँ–जहाँ जसरी संलग्नता छ, दोषका प्रकृतिका आधारबाट कानुनी कारबाही हुन्छ ।’ प्रतिवेदनले उजागर गरेका विषयवस्तु सार्वजनिक गर्नुपर्छ उहाँले भन्नुभयो । 

कानुनको आँखाबाट दोषी देखिएको जोसुकै भए पनि उम्किन नहुने उहाँको भनाइ छ । कोही पनि दोषी सरकारको छायाँमा रहेका कारणले गर्दा उन्मुक्ति पाउँछ भन्ने कुरा किमार्थ हुन नहुने उहाँले सुझाव दिनुभयो । गृहमन्त्री रवि लामिछाने आफ्नोबारेमा छानबिन सबै तहबाट होस् भनिरहेकाले त्यसमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । “यसलाई विषय बना राजनीतिक ढङ्गबाट अहिले रास्वपाको नेतृत्वकर्ता गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अङ्कगणितका आधारमा गरिएको प्रयास हो” उहाँले भन्नुभयो । 

“अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा कसैले जोगाउनुपर्छ भन्ने छैन । कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अङ्ग प्रभावित हुन्छ भन्ने सोच्नुहुँदैन । यो सरकारलाई उहाँहरुले २८ दिनको म्याद दिनुभएको छ” उहाँले भन्नुभयो । सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मुख्य कार्यभार भएको उहाँको भनाइ छ ।