• २४ पुस २०८१, बुधबार

२२ हजार हेक्टर जमिनमा सिक्टाको सिँचाइ सुविधा

blog

फाइल तस्बिर ।

राँझा (बाँके),  चैत ४ गते ।  निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइबाट बाँके जिल्लाको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

बयालिस हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ मा सरकारको स्रोतबाट निर्माण सुरु भएको आयोजनाले हालसम्म लक्ष्यको आधा प्रगति हासिल गरेको आयोजना कार्यालयले जनाएको छ । 

आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा एक हजार हेक्टर र पूर्वी मूल नहरतर्फ चार हजार हेक्टर गरी २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले जानकारी दिनुभयो ।

“आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँकेको राप्ती नदी पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “आयोजना सुरु भएदेखि हालसम्म समष्टिगत भौतिक प्रगति ४० दशमलव २२ प्रतिशत र वित्तिय प्रगति ३९ दशमलव ३८ प्रतिशत रहेको छ ।”

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयोजनाले पुँजीगततर्फ विनियोजित बजेटको ४० दशमलव १० प्रतिशत वित्तिय प्रगति गरेको छ । विनियोजित रू ७५ करोड ४८ लाखमध्ये फागुन मसान्तसम्म रू ३० करोड २६ लाख ३२ हजार खर्च भएको इञ्जिनियर पौडेलले बताउनुभयो ।

“चालु आवमा आयोजनाको पूर्वी मूलनहरको बाँकी काम गर्न ठेक्का व्यवस्थापनका लागि पूर्वतयारी हुँदैछ”, उहाँले भन्नुभयो, “पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरुवा र गोहवा शाखाको ठेक्का सम्झौता भई निर्माण सुरु गर्ने, गुरुवागाउँ शाखाअन्तर्गत नहर निर्माण, जग्गा अधिग्रहणसम्बन्धी काम र अन्य शाखाको ठेक्का व्यवस्थापनलगायत पूर्वतयारीको काम सुरु हुनेछ ।”

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी जिल्लाको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउन आयोजना निर्माण गरिएको आयोजनाका निर्देशक देवराज निरौलाले बताउनुभयो । आव २०६२/६३ मा सुरु भएको आयोजना संशोधित गुरुयोजनाअनुसार आव २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत रू ५२ अर्ब ८९ करोड रहेको छ । रासस